राजविराज । सप्तरीको अग्निसाईर कृष्णसावरन गाउंपालिका–२ भुर्कीका चिसो पीडित डोम ( मरिक) समुदायले न्यानो कपडा पाउँदा उनीहरुको मुहारमा खुशीयाली छाएको छ ।
न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताउन बाध्य रहेका डोम समुदायले नयाँ र न्यानो कपडा पाउंदा उनीहरु हर्षित भएका हुन् । मलेसियामा वैदेशिक रोजगारीमा रहेका स्थानीय विष्णुदेव र हरिहरदेवी चौधरीको छोरा संतोष कुमार चौधरीको सहयोगमा डोम परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । स्थानीय संचारकर्मी बृजमान तामाङको पहलमा उपलब्ध कपडा डोम वस्तीमा शनिबार आयोजित एक कार्यक्रमका बीच चिसोपीडित ७ जनालाई ज्याकेट, स्विटर, टाउजर सहितका न्यानो कपडा वितरण गरिएको छ । चिसोपीडित महेन्द्र मरिकले जाडोमा ज्याकेट लगाउन पाउँदा धेरै खुशी लागेको बताए । न्यानो लुगाफाटोको अभावमा ज्यानै जोगाउन हम्मे भएको थियो, मरिकले भने, आफूले किनेर लगाउने अवस्था नभएको बेला न्यानो कपडा सहयोग पाउंदा धेरै नै खुशी लागेको छ । मरिकले विपद पर्दा सहयोग गर्नुहुनेहरु हाम्रालागि भगवान नै भएको भन्दै धन्यवाद समेत व्यक्त गरे । शनिबार आयोजित कार्यक्रममा महेन्द्र सदा, चयनत्री सदा, रुपेन्द्र मरिक, सुरेन्द्र मरिक, सितारा मरिक, रुद्र मरिक र माया मरिकलाई न्यानो कपडा प्रदान गरिएको थियो ।
कार्यक्रममा अग्निसाईर कृष्णसावरन गाउँपालिका–२ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरी, पत्रकार बृजमान तामाङ, जसपा जिल्ला सदस्य कुशेश्वर प्रसाद चौधरी, दुर्गानन्द चौधरी, गाउँपालिका सचिव मिलन चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान तामाङ, काग्रेसका राम कुमार चौधरी, वनदेवी सामुदायिक वन उपभोक्ता समिति भुर्कीका अध्यक्ष रामपुरण चौधरी, दाता विष्णुदेव चौधरी, हरिहर देवि चौधरी, समाजसेवी रामकिसुन चौधरी लगायतका स्थानीय बुद्विजिवीहरुको सहभागिता रहेको थियो । पुसको जाडोमा मरिक परिवारलाई जाडो कटाउन हम्मे, शिर्षकमा विभिन्न संचार माध्यम समाचार प्रकाशन, प्रसारण भएपछि चिसोपीडित मरिक समुदायलाई विभिन्न व्यक्ति तथा संस्थाहरुबाट न्यानो कपडा सहयोग गरिएको छ । यस अघि धर्मिहल्फा महिला विकास क्लब सप्तरीले मरिक परिवारलाई बल्यांकेट वितरण गरेका थिए । संचारमाध्यममा मरिक समुदायको समस्या पढेपछि क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले डोम वस्तिमा पुगेर चिसो पीडितहरुलाई कम्बल वितरण गरेका थिए ।

