जनकपुरधाम । प्रदेश २ मा अवरोधको राजनीति थालेको आरोप लगाउँदै जनता समाजवादी पार्टी (जसपा) ले जनमत पार्टीलाई सचेत गराएको छ ।
जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले शनिबार जारी गरेको विज्ञप्तिमा जनमत पार्टीलाई अपराधिक गतिविधि नगर्न चेतावनी दिएका छन् । संघीय सरकारमा भौतिक पूर्वाधार मन्त्री समेत रहेकी जसपा कार्यकारिणी सदस्य रेणु यादवले जनमत पार्टीका अध्यक्ष डा.सी.के. राउतलाई धम्की दिएपछि देशमा राजनीति तरंगित बनेको छ । गत ५ गते रौतहट जिल्लामा मन्त्री यादवको कार्यक्रम बिथोल्न जनमत पार्टीले हिंसा भड्काउन खोजेको आरोप जसपाले लगाउँदै आएको छ । तर जनमत पार्टीले मन्त्री यादवको अभिव्यक्तिलाई गंभीर भएको बताउँदै अध्यक्ष राउतको हत्या गराउन सक्ने खतरा ठानेको छ । पार्टीको कार्यक्रम तथा यसका नेता कार्यकर्ता विरूद्ध अपराधिक कार्य अब उपरान्त नगर्न अधिकारीले जनमत पार्टीलाई चेतावनी दिएका छन् । ‘ बलिदानी दिवसको कार्यक्रमलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा लिई अवरोध गर्ने, कार्यक्रम विथोल्ने, आतंक मचाउने र हिंसा भड्काउने जस्ता गैर–राजनीतिक एवं अपराधिक क्रियाकलापमा संलग्न रहेका थिए’ अधिकारीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘जनमत पार्टीको उदण्ड, गैर–राजनीतिक, उच्छृंखल र अपराधिक कार्यको जसपा भत्र्सना गर्दछ ।’ रौतहट जिल्लाको गौरमा मन्त्री यादव सहभागी ‘ बलिदानी दिवस’ कार्यक्रमलाई विथोल्न जनमत पार्टीका कार्यकर्ताले सुनियोजित षडयन्त्र गरेको उनले आरोप लगाएका छन् । पार्टीको कार्यक्रम र नेता, कार्यकर्ता लक्षित अवरोधको कार्यक्रम नगर्न अधिकारीले विज्ञप्ति मार्फत जनमत पार्टीलाई सचेत गराएका छन् । ‘जसपाको कार्यक्रम तथा यसका कुनै नेता कार्यकर्ता विरूद्ध लक्षित यस्ता अपराधिक कार्य अब उपरान्त नगर्न सचेत गराइन्छ ’ विज्ञप्तिमा भनिएकोछ, ‘गैर–राजनीतिक, अराजक, गैर–कानुनी, असमाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरिन्छ ।’ जसपाले अपराधिक कार्यलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
जनमत पार्टीले मन्त्री यादवको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै सरकारबाट हटाउन माग गरेको हो । तर जसपाका नेताहरुले निषेधको राजनीति नगर्न जनमतका नेताहरुलाई चेतावनी दिन थालेका छन् । जसपाका युवाका ईञ्चार्ज समेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले जनमतका नेता, कार्यकर्ताहरुले जसपाका प्रदर्शनकारीहरुको मोटरसाईकलमा तोडफोड, झण्डा खोस्ने जस्ता कार्य गरे पनि मार्ग परिवर्त नगरी कार्यक्रम गरेको बताए । जनमत पार्टी गत महिना देखि किसानका समस्याहरु समाधान गर्न माग गर्दै किसानको नाममा राजमार्ग केन्द्रित आन्दोलन थालेका थिए । हाल संघीय सरकारका मन्त्रीहरुलाई प्रदेशमा निषेध गरिएको भन्दै जनमत पार्टीका नेता, कार्यकर्ताहरुले अवरोध खडा गर्न थालेका छन् ।

