वीरगञ्ज । पार्टी विभाजन भएको ६ महिना नबित्दै जनता समाजबादी पार्टी पुनः विभाजनको संघारमा पुगेको छ ।
दुइ अध्यक्ष र मन्त्री परिवर्तनको विषयलाई लिएर सुरु भएको पार्टी भित्रको विवाद चुलिंदै गएको हो । पार्टीको पर्सा जिल्लाको आन्तरिक विवाद प्रदेशसम्म पुगेको छ । पछिल्लो साता दुइ छुट्टा–छुट्टै समूहले जिल्ला कार्यसमिति गठन र पुनःगठन गरेका थिए । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट भएका समूहले गत माघ २ गते मन्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको थियो । त्यसको केही घण्टा नबित्दै उपेन्द्र निकट रहेका जिल्ला अध्यक्ष रामनरेश यादवले जिल्ला कार्यसमिति पुनःगठन गरे । पर्सामा गठन भएको दुइ छुट्टा–छुटटै जिल्ला कार्य समितिको विवाद अहिले जसपाको मधेस प्रदेश समितिमा प्रवेश गरेपछि पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको हो । जसपाको मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवले शनिबार मात्रै एक विज्ञप्ति जारी गरी पर्सा जिल्लामा राम नरेश यादवको समितिलाई आधिकारिक भनेपछि विवाद झनै बढको हो । मुख्यसचिव दिनेशले पार्टीको आधिकारिक लेटर प्याडमा विज्ञप्ति जारी गर्दै जिल्लाहरुमा जनता समाजवादी पार्टी बन्नुभन्दा पहिला रहेका तत्कालीन समाजवादी पार्टी र राजपाका समिति नै अहिले पनि आधिकारिक रहेको जनाएका छन् । विज्ञप्तिमा पर्सा जिल्लामा माघ २ मा केही समूहले मन्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति गठन गरेको खबर विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशले त्यो पार्टीको आधिकारी समिति नभएको विज्ञप्तिद्धारा जानकारी गराएका छन् । केन्द्रमा तत्कालीन समाजवादी पार्टी र राजपाबीच पार्टी एकता भए पछि जिल्लाहरुमा समायोजनको काम बाँकी नै रहेको भन्दै जसपाको मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशले जिल्लामा जिल्ला कार्यसमिति गठन गर्ने अधिकार मधेस प्रदेश समितिको भएकोले अहिलेलाई पर्सामा रामनरेश यादव नेतृत्वकै जिल्ला कार्यसमिति आधिकारिक रहेको जनाए । प्रतिउत्तरमा आइतबार जसपाको मधेस प्रदेश समितिकै उपाध्यक्ष सुशिल यादवले एक विज्ञप्ति जारी गरेर पर्सामा मन्जुर अन्सारीको नेतृत्वमा गठन गरिएको नयाँ जिल्ला कार्य समिति नै आधिकारिक रहेको दाबी गरेका छन् ।
जसपा मधेस प्रदेशका उपाध्यक्ष सुशिलले जारी गरेको विज्ञप्तिमा शनिबार मधेस प्रदेश समितिका मुख्यसचिव यादवले जारी गरेको विज्ञप्ति पार्टीको आधिकारिक नभएको उल्लेख छ । जसपाका मधेस प्रदेश उपाध्यक्ष सुशिलले पर्सामा हालै देखिएको पार्टीभित्रको विवाद केन्द्रीय कार्यसमितिले टुंगो लगाउने भएकाले मधेस प्रदेशका मुख्य सचिव यादवले व्यक्तिगतरुपमा जारी गरेको विज्ञप्तिको कुनै औचित्य नै नभएको दाबी गरेका छन् । उनले पर्सामा जिल्ला कार्य समितिका दुइ तिहाइ सदस्यको बैठक बसेर मन्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको लिखित जानकारी मधेस प्रदेश समितिलाई प्राप्त भएकाले पुरानो वा नयाँ कुन समितिलाई आधिकारिकता दिने भन्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताए । यता रामनरेश यादव नेतृत्वको जिल्ला कार्य समितिका सचिव तबरेज अहमदले हालै प्रदेश समितिका मुख्यसचिव दिनेश यादवले शनिबार जारी गरेको विज्ञप्ति नै आधिकारिक भएको दाबी गर्दै त्यो विज्ञप्तिले पर्सामा पार्टी भित्र मौलाउन खाजेको अराजक संस्कृतिलाई अंकुश लगाउने काम भएको प्रतिक्रिया दिए । उनले भने,‘जिल्लामा भाँडभैलो मचाउने तत्वले प्रदेशमा पनि विवाद ल्याउन असफल प्रयास मात्र हो ।’

