अपडेट 
२०७८ माघ १०, सोमबार ०७:५२

जनकपुरधाम । मुलुकमा सबभन्दा बढी विद्युत चुहावट मधेश प्रदेशमा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

जनकपुरधाम मातहतका २३ वटा वितरण केन्द्रहरुको समग्रमा विद्युत चुहावट १२.९९ प्रतिशत रहेको भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत १७.३६ रहेको थियो । चुहावट नियन्त्रण भएको देखिए पनि मुलुकमै सबभन्दा बढी विद्युत चुहावट मधेश प्रदेशमै हुने गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार सात वटा प्रादेशिक कार्यालय र दुइवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरधाममा रहेको छ । मधेश प्रदेशमा सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत चुहावट रहेको जनाइएको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट १०.१७ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३९.८० प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकोमा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ ।औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट ०.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो । प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट २४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७।२२ प्रतिशत थियो । बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत चुहावट रहेको छ ।

गत त्यस केन्द्रको २६.५८ प्रतिशत चुहावट थियो । बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो । त्यसपछि सिन्धुपाल्चोककै हेलम्बू वितरण केन्द्रको विद्युच चुहावट ३०.७८ प्रतिशत छ । गत वर्ष केन्द्रको चुहावट ९.२८ प्रतिशत थियो । गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकोमा यस वर्ष १५.५५ प्रतिशतमा झरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो । लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट प्यूठान वितरण केन्द्रको १९.४२ प्रतिशत रहेको छ । अघिल्लो वष त्यस केन्द्रको चुहावट १९.९० प्रतिशत थियो । कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष ३१.२५ प्रतिशत रहेकोमा यस वर्ष २७.१३ प्रतिशतमा झरेको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत पुगेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News