अपडेट 
२०७८ माघ ११, मंगलवार ०८:२३

जनकपुरधाम । महोत्तरीको पिपरा गाउंपालिकाका अध्यक्ष विक्रम चौधरीले जनाधार खस्किंदै गएका दलहरुले चुनावी आन्दोलन सुरु गरी विकास निर्माणको काम अवरुद्ध पारेको आरोप लगाएका छन् । सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले आइतबारदेखि गाउंपालिका कार्यालयमा कामकाज ठप्प गरेर विकास निर्माणको काममा अवरोध सृजना गरेको आरोप समेत उनले लगाए ।

उनले भने ,‘वार्ता गरेर समस्याको समाधान गर्न प्रमुख जिल्ला अधिकारीले समेत आग्रह गर्दा पनि नमान्ने ,गाउँसभाले पास गरेर कानून बमोजिम गरिएको काममा भ्रष्टाचारी भएको हल्ला फिँजाएर खस्किएको जनाधार प्राप्त गर्नु बाहेक यस आन्दोलनको कुनै औचित्य छैन।’ सोमबार पिपरामा आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनकारीहरुले माग गरेको सम्पूर्ण कागजपत्र दिइसकेको भएपनि जबरजस्ती बद्नाम गरेर जनता सामु चोखो बन्ने प्रयास गरेका दलहरुले एकल जातीय वर्चस्व कायम रहेको बेला केही पनि नबोलेकोले यो आन्दोलनको उद्देश्य पालिकालाई बद्नाम गर्ने मात्रै रहेको प्रष्ट भएको बताए । गाउँपालिकामा भ्रष्टाचार, अनियमितता, अपारदर्शिता भएको भन्दै नेपाली कांग्रेस ,जनता समाजवादी पार्टी नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ,नेकपा माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी तथा जनमत पार्टीको संयुक्त आन्दोलन संघर्ष समितिले विगत सातादिनदेखि गाउंपालिका परिसरमा धर्ना प्रदर्शन गर्दै आएको छ । उनीहरुले मागमाथि कुनै सुनुवाई नभएको भन्दै आइतबार गाउंपालिकाको प्रशासनिक भवनमा तालाबन्दी भएपछि आइतबारदेखि गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प बनेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा केही रकम बेरुजु भएको देखिए पछि भ्रष्टाचार भएको ठहर गर्न नमिल्ने भएको बताउंदै उनले भने,‘ भवन मरम्मतका लागि बजेट शिर्षक नै ५५ लाख रहेको तर आन्दोलित साथीहरुले झुठो प्रचार गरेर सोमा दुइ करोड खर्चेको भनिराख्नु भएकोछ।’ त्यसैगरी आन्दोलनकारीहरुले पत्रपत्रिका शीर्षकमा ९१ लाख खर्च गरिएको बताउंदै आएको तर सो शीर्षकमा जम्मा २० लाख बजेट नै रहेकोले उहाँहरुको आन्दोलनको आधार नै झुठो साबित भएको दाबी उनले अध्यक्ष चौधरीले गरे । गाउँपालिकाको कार्यालयमा सूचनाको हक, सुशासन र पारदर्शिता कायम गर्नका लागि समितिमा आबद्ध व्यक्तिहरूले तालाबन्दी गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका स्थानीय नेता रामनरेश ठाकुरले बताए ।

यता सिडियोले हामीहरुलाई वार्ताको लागि जलेश्वर बोलाएपनि आफूहरुले गाउंपालिकामै स्थानीय नागरिक सामु नै वार्ता गर्ने बताएको नेकपा समाजवादीका महादेव चौधरीले बताए । यता समस्याको समाधानको लागि वार्ता गर्न अध्यक्ष चौधरीले आन्दोलनकारीहरुलाई आग्रह गरेका छन् । अनियमितता भएकै छ भने सोको नियमनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका थुप्रै निकायहरु हुँदा हुँदै पनि नगरपालिकामा तालाबन्दी कामकाज नै ठप्प पार्नुले नागरिककै काम अवरुद्ध गर्नु कतिको उचित छ भन्ने प्रश्न समेत अध्यक्ष चौधरीले गरे ।

Comment


Related News

Latest News

Trending News