अपडेट 
२०७८ माघ ११, मंगलवार ०८:३१

जनकपुरधाम । कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् ।

साथै करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् । मधेश प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ । निर्देशनालयको तथ्यांक अनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण डोज लगाएका हुन् । त्यसैगरी नेपाल सरकारले अग्रपंक्तिमा खटेकालाई बुस्टोर डोज दिन सुरु गरेकामा मधेश प्रदेशमा करिब ११ हजारले बुस्टर डोज लगाएका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९ सय ९८ जनाले बुस्टर डोज लगाएको जानकारी दिए । बारामा सबैभन्दा बढी तीन हजार २२० जनाले बुस्टर डोज लगाएका छन् । त्यस्तै सर्लाहीमा दुइ हजार २६, धनुषामा एक हजार ९ सय ६०, रौतहटमा एक हजार ८ सय २३, सिरहामा एक हजार ८७, महोत्तरीमा ४ सय १६, सप्तरीमा ३ सय २१ र पर्सामा १ सय जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक झाका अनुसार प्रदेशमा हालसम्म कूल जनसंख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९.५९ प्रतिशत नागरिकले पहिलो डोज लिएका छन् ।

प्रदेशमा कूल ६३ लाख ४३ हजार ९७० जना जनसंख्या रहेकोमा आइतबारसम्म २१ लाख ५६ हजार ९ सय ६४ जना अर्थात ३४ प्रतिशतले खोपको पूर्ण डोज लगाएका छन् । प्रदेशमा कूल जनसंख्यामध्ये १८ वर्ष भन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४२५ र १२ देखि १७ वर्षसम्मका ११ प्रतिशत नागरिक अर्थात सात लाख १५ हजार ३ सय ४२ जनालाई खोप दिने लक्ष्य रहेको छ । लक्ष्य अनुसार भने मधेश प्रदेशमा १८ वर्षभन्दा माथिका ५१.८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६०.४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाह्र वर्षदेखि १७ वर्षसम्मका भने ६७.२ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन् । पूर्ण डोज लिनेमा सबै भन्दा बढी पर्सामा पाँच लाख २८ हजार ३ सय १६ जना रहेका छन् । त्यस्तै सर्लाहीमा तीन लाख ८७ हजार ६ सय ५९, धनुषामा तीन लाख २१ हजार ७ सय ५४, बारामा तीन लाख २० हजार ८ सय ५१, सप्तरीमा दुइ लाख ३६ हजार ३ सय १६, रौतहटमा दुइ लाख २९ हजार ३ सय ८१, सिरहामा दुइ लाख २० हजार ३सय ७७ र महोत्तरीमा एक लाख ९५ हजार ५ सय ९८ जनाले भ्याक्सिन लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News