जनकपुरधाम । राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
स्वास्थ्य मापदण्ड, शान्ति सुरक्षा तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जनाएका छन् । निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार–प्रसार रोकिएको छ । निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका ८ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । देशको ७ वटै प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुका लागि प्रदेशगत रुपमा चुनाव भइरहेको छ ।सबै प्रदेशमा सत्तारुढ गठबन्धनको अवस्था बलियो देखिएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको राष्ट्रिय सभामा समेत ठूलो क्षति हुने संभावना छ ।
मधेश प्रदेशमा सत्तारुढ दल र विपक्षी दलबीचको मतभारमा भारी अन्तर छ । आगामी फागुन २० गते नेकपा (एमाले)का ८, नेकपा (एकीकृत समाजवादी)का ४, नेकपा (माओवादी केन्द्र)का ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी कुल २ हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेकोछ । निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ र प्रदेशसभाका ५ सय ३२ मतदाता रहने छन् । निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एकतिहाइ सदस्य प्रत्येक २ वर्षमा पदावधि समाप्त हुने सवैधानिक व्यवस्था छ ।
जसपाकी सांसद वर्णवाल सम्पर्क विहीन
जनकपुरधाम ।मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा) की सभासद रागिनी वर्णवाल सम्पर्क विहीन भएकी छन् ।राष्ट्रिय सभाको मतदानका लागि पाँच दलीय गठबन्धनका सभासद, पालिका प्रमुख–उपप्रमुखलाई जनकपुरधाममा एउटा होटेलमा राखिएको हो ।तर त्यसमा वर्णवाल छैनन् ।उनी भारतमा छोरीलाई भेट्न गएको खबर प्राप्त भएको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताए । मधेश प्रदेशबाट पाँच दलीय गठबन्धनका तर्फबाट जसपाका मो.खालिद सिद्धिकी र माओवादी केन्द्रकी उर्मिला अर्याल उम्मेदवार छन् ।त्यसैगरी एमाले र लोसपा गठबन्धन तर्फबाट खुल्लामा एमालेका मो.उसमान अंसारी र लोसपाकी रुपा यादव उम्मेदवार रहेकी छन् ।एमालेकी बिना साहले यादवलाई समर्थन जनाइसकेकी छिन् ।
मधेश प्रदेशको मतभार
जनकपुरधाम ।मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा सबै भन्दा बढी मतदाता जनता समाजवादी पार्टी(जसपा)को रहेको छ ।त्यसपछि नेपाली कांग्रेसको मतभार छ ।
जसपा–२९८८
नेकां–२२६२
लोसपा–१५६०
माओवादी केन्द्र–११९४
एमाले–९२४
नेकपा एस–७५०
ने संघिय समाजवादी–४८
ने जनता दल–३६
मधेश प्रदेशमा १ सय ४ जना सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ६९ जना रहेका छन् । प्रदेश सभासदस्यको मतभार ४८ हो । प्रमुख र उपप्रमुखको मतभार १८ हो । प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय ७० हुन्छ ।त्यस मध्ये पाँच दलीय गठबन्धनको कुल मतभार कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गरी ७ हजार ३ सय २ हुन्छ ।



