अपडेट 
२०७८ माघ १३, बिहीबार ०७:११

मधेश प्रदेश अन्य प्रदेशहरु भन्दा पछाडि पर्नुको एउटा प्रमूख कारण यहाँको कमजोर शैक्षिक अवस्था र शिक्षित वेरोजगार । मुसहर, डोम जस्ता केहि हार्ड कोर ग्रुपका सबै बालबालिकाहरु अहिले पनि विद्यालय नआएको परिस्थिति ।शैक्षिक क्षेत्रमा यहाँको मुख्य समस्या भनेको बीचमै विद्यार्थीहरु विद्यालय छोड्नु हो । कक्षा एकमा सय जना भर्ना भयो भने कक्षा बाह्र उत्तीर्ण गर्ने विद्यार्थी साठी जना पनि हुँदैन ।

यसको प्रमूख कारण वेरोजगारी, गरिबी र शैक्षिक जागरणको अभाव हो।गुणस्तरीय शिक्षाको अभावमा आफ्नो शैक्षिक स्तर अनुसारको रोजगार उपलब्ध भईरहेको छैन ।युरोप, अमेरीका, अस्ट्रेलिया नगएर खाडी मुलुकको चर्को घाममा काम गर्न बाध्य हुन्छन् यहाँका नागरीक र श्रमिकहरु। यसबाट केहि अभिभावक आफ्नो बालबालिकालाई उच्च शिक्षा अध्ययन गराउन हतोत्साहित हुने गर्दछन् । तसर्थ शिक्षित वेरोजगार र प्रमाणपत्रधारीहरुलाई रोजगारी दिने प्रयास गर्नुपर्दछ । उनीहरुलाई आत्मनिर्भर बनाउने पहल गर्नुपर्दछ ।सोह्र वर्षको किशोर आफ्नो उमेर वढाएर खाडी मुलुक जानका लागि तछाडछाड गर्ने गर्दछन् । गुणस्तरीय र प्राविधिक शिक्षा एवम् शिपको अभावमा शिक्षित जनशक्ति पनि लेवरको रुपमा त्याँहा कडा परिश्रम गर्न बाध्य हुन्छन् ।विभिन्न तहको सीप परिक्षण (स्किल टेस्टिङ्ग) को प्रावधान रहेको वारे सर्वसाधारणलाई जानकारी गराउनु आवश्यक छ । यसबाट आफ्नो परम्परागत तौरतरिका वा अन्य अनौपचारिक विधिबाट सिकेका सीपको परिक्षण भई प्रमाणपत्र प्राप्त गरेर औपचारिक रुपमा दक्ष कामदार बन्न मद्दत पुग्दछ । गरिबीको कारणले कतिपय बालबालिका बीचमै विद्यालय छोडेर बाल मजदुरको रुपमा काम गरिरहेको हामी पाउँदछौ । यसबाट अभिभावक, बालबालिका, किशोरी–किशोरलाई इन्सटेन्ट लाभ भए पनि उनीहरु उच्च शिक्षा आर्जन गर्नबाट वञ्चित हुन जान्छन् ।यसरी उनीहरु पुस्तौपुस्ता गरिबीको दुष्चक्रमा फस्न बाध्य हुन्छन् । मधेश प्रदेशमा गुणस्तरीय शिक्षाको अभावमा कतिपय अभिभावकहरुले आफ्नो बालबालिकालाई जनकपुर, वीरगंजमा पढाउनुको सट्टा काठमाडौं, सिन्धुली र हेटौंडामा पढाउन इच्छुक हुन्छन् ।

सम्मानजनक नोकरी र लोक सेवा एवम् शिक्षक सेवा जस्तो आयोगले लिने परीक्षामा उत्कृष्ट हुनका लागि प्रमाणपत्र भन्दा पनि आर्जित शिक्षाको गुणस्तर उच्च हुनुपर्दछ । मध्यान्तर पछि पनि सबै बालबालिकालाई विद्यालयमा शिक्षण सिकाइमा सक्रिय गराउने वातावरणको निर्माण हुनुपर्दछ ।शुक्रवार मध्यान्तरपछि अनिवार्य रुपमा अतिरीक्त तथा सह–क्रियाकलाप गराउने संस्कारको विकास हुनुपर्दछ । शिक्षकले कक्षाकोठामा विद्यार्थीसंगको अन्तरक्रियामा वढी भन्दा वढी समय सदुपयोग गर्नु पर्ने देखिन्छ ।बालबालिकाका लागि आमाबुबा भन्दा शिक्षक बढी आदरणीय र अनुकरणयोग्य हुन्छन् । यसका लागि प्रधानाध्यापक आफै अनुशासित हुनुपर्दछ। शिक्षक, विद्यार्थी, अभिभावक एवम् समाजका लागि नमूना र प्रेरणाको श्रोत हुनुपर्दछ।बिद्यार्थीहरुको शैक्षिक (सिकाई) उपलब्धि दिनानुदिन वढनुपर्ने वातावरणको श्रृजना हुनुपर्दछ । आफ्नो बालबालिकाको व्यवस्थित शिक्षण सिकाइका लागि सबै अभिभावकले आफ्नो दायित्य पुरा गरेको देखिदैन ।घर विद्यार्थीको लागि पहिलो पाठशाला हो भने बुबाआमा पहिलो शिक्षक– शिक्षिका । शिक्षालाई पहिलो प्राथमिकतामा राखी विधार्थीको पोशाक, पाठ्यसामाग्री, खाजा आदिको समुचित व्यवस्था गरिनुपर्दछ । विद्यालयमा के कति अध्ययन गरेको हो सो विषयवस्तुवारे विद्यार्थीलाई बेलुका सोध्नु पर्दछ । आफ्नो विद्यार्थीको शैक्षिक अवस्था, बानीव्यहोरा र प्रगतिवारे मासिक एक पटक विद्यालयमा गएर सोधपुछ गर्नुपर्दछ । घरमा पठनीय वातावरण कायम हुनुपर्दछ ।

घरका अभिभावक आफै अनुशासित भएपछि बच्चा त्यसको अनुसरण गर्दछन्। अभिभावक आफै विना कामको वढि समय टि.भी. आदिमा दिनुहुँदैन र टाइम पास गर्नका लागि फेसबुक, मोबाइल चलाउनु भन्दा कुनै श्रम गर्नु पर्दछ, श्रृजनात्मक काम गर्नु पर्दछ । सम्भव भए आफ्नो बालबालिकाको अध्ययन–अध्यापनमा समय दिनु पर्दछ । विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) ले विद्यालयको भौतिक संरचना भन्दा विद्यार्थीको सिकाइ उपलब्धिको प्रगतिमा वढी ध्यान दिनु फाइदाजनक हुन्छ। बि.व्य.स.को प्रत्येक बैठकमा सिकाइ उपलब्धिको चर्चा हुनु पर्दछ ।अभिभावक शिक्षक संघ, प्रधानाध्यापक, शिक्षक, अगुवा विद्यार्थीको सहयोगमा प्रत्येक कक्षा र प्रत्येक विषयको सिकाइ उपलब्धिको लक्ष्य तोकिनु पर्दछ । उक्त लक्ष्य प्राप्त भयो÷भएन त्यसको वारेमा प्रधानाध्यापक, शिक्षकहरुसंग आवधिक रुपमा छलफल गर्नु पर्दछ ।यसबाट कक्षा दशमा पढने विद्यार्थीलाई कक्षा सातको विषयवस्तुवारे जानकारी नहुने दुष्प्रचारलाई निर्मुल गर्न मद्दत पुग्दछ । वि.व्य.स.ले प्रत्येक बैठकमा विद्यार्थी प्रतितिधिलाई सहभागी गराई उनीहरुबाट विद्यालयको उन्नति र प्रगतिका लागि राय सल्लाह लिनु पर्दछ ।अधिकांश विद्यालयहरुमा अभिभावक शिक्षक संघ गठन हुन सकेको छैन भने कतिपय विद्यालयहरुमा अहिले वि.व्य.स. गठन गर्नु पर्ने अवस्था छ । वि.व्य.स. गठन, पुनर्गठनको बेलामा अभिभावकहरुका वीचमा होहल्ला, वैमनस्यता, राजनीतिक मनमुटाव हुने कुसंस्कारलाई तिरस्कृत गर्दै समितिका पदाधिकारीहरुले विद्यालयबाट कुनै लाभ लिने सोच राख्नुभन्दा विद्यालयको प्रगतिको लागि आफ्नो तर्फबाट के कति योगदान गर्न सकिन्छ भन्ने मानसिकता विकास गरियो भने यसले विद्यालयको शैक्षिक श्रीवृद्धिमा महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । प्रत्येक स्थानीय तहले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ ।

शैक्षिक उन्नयनले अटोमेटिक रुपमा स्वास्थ्य, भौतिक, खेलकुद, कृषि, सामाजिक, आर्थिक अवस्थामा सुधार ल्याउँदछ ।पछौटेपनको प्रमूख कारण अशिक्षा हो । माटो र बाटो भन्दा प्रत्येक घरको बालबालिकालाई नियमिति रुपमा दश देखि चार बजे सम्म विद्यालयमा राख्ने वातावारणको श्रृजना हुनुपर्दछ । शिक्षकले समयमै तलब सुबिधा पाउने मानसिकताको निर्माण हुनुपर्दछ । विद्यालयमा छात्राको लागि शौचालय र सेनिटेशन प्याडको समुचित व्यवस्था हुनुपर्दछ ।यसबाट विद्यालयमा छात्राको उपस्थिति दरमा वृद्धि हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । विद्यालय, घर र समाजमा पठन– पाठन वातावरणको विकास गर्नुपर्दछ । आफ्नो खाली समयलाई अध्ययन–मननमा सदुपयोग गर्न ठाउँ–ठाउँमा पुस्तकालय आदिको व्यवस्था हुनुपर्दछ । मधेश प्रदेश शिक्षा क्षेत्रमा पछाडि पर्नुको एउटा प्रमुख कारण महिलाहरुको शिक्षामा न्यून सहभागिता हुनु हो । अहिले पनि बैंक आदिमा पन्द्रह प्रतिशत भन्दा वढी नागरीकले सहि गर्नुभन्दा ल्याप्चे लगाउन सहज महसुस गर्दछन् । अनौपचारिक शिक्षालाई कार्यमूलक बनाउनु पर्दछ । दैनिक कामकाजमा आवश्यक पर्ने सामान्य लेखपढको समस्यालाई यसले समाधान गर्नुपर्दछ । वाल विवाह, दहेज प्रथालाई निरुत्साहित गर्नुपर्दछ । बेटी पढाउ, बेटी बचाउ; छोरी बीमा कार्यक्रमलाई उपलब्धीमुलक बनाउनु पर्दछ। बुबा शिक्षित भए एक जना मात्र (स्वयं) शिक्षित हुन्छन् भने आमा शिक्षित भए सबै छोरा–छोरी शिक्षित हुन्छन् भन्ने पौराणिक भनाईलाई आत्मसात गर्दै किशोरी/महिला शिक्षामा वढी जोड दिनु पर्दछ । जुनसुकै सेवा र क्षेत्रमा महिलालाई पचास प्रतिशत आरक्षण हुने मधेश प्रदेशको निर्णयलाई आम नागरिकले मनन गर्ने/देख्ने गरी तुरुन्त कार्यान्वयनमा ल्याउनु पर्दछ ।

यसबाट अभिभावकहरु आफ्ना छोरी÷वहिनीलाई उच्च शिक्षा सम्म अध्ययन गराउन अभिप्रेरीत हुन्छन् ।बालिका, किशोरी र महिलालाई शिक्षित बनाउनु पर्छ भन्ने विषयमा सबै अभिभावक सक्रिय हुन्छन् । बाग्मती प्रदेश जस्तै गरीखाने विपन्न परिवारलाई उच्च शिक्षा सम्म अध्ययनका लागि छात्रवृति र सहुलियत प्रदान गर्ने सोचलाई अक्षरशः कार्यान्वयन गर्नु पर्दछ । सामुदायिक क्याम्पसहरुको सबै कक्षाहरुमा अनिवार्य रुपमा नियमित पठनपाठनका लागि क्याम्पस प्रशासन, प्राध्यापक, विद्यार्थी युनियन र विद्यार्थीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्दछ । प्रश्नपत्रहरुमा अगाडिका वर्षका प्रश्नहरु दोह्रयाउनुभन्दा श्रृजनात्मक र नौलो प्रश्नहरु समावेश गर्नुपर्दछ । यसबाट परीक्षामा उत्तीर्ण गर्नका लागि बिद्यार्थीहरुलाई सम्पूर्ण विषयवस्तुको गहिराईमा अध्ययन गर्नुपर्ने हुन्छ ।यसका लागि विद्यार्थीले कक्षाकोठामा शिक्षकहरुसंग अनिवार्य रुपमा छलफल र अन्तरक्रिया गर्ने वातावरणको श्रृजना हुन्छ । यसबाट तह अनुसारको योग्यता र क्षमता प्राप्त गर्न मद्दत पुग्दछ । स्नातकोत्तर तह उत्तीर्ण गरेका केहि व्यक्तिले बाह्र कक्षाको विद्यार्थीलाई पढाउन सक्दैन भन्ने नकारात्मक प्रचारप्रसार हराएर जान्छ । नाम मात्रको प्रमाणपत्र, मार्कसिट र ट्रान्सक्रिप्ट प्राप्त गर्नु भन्दा प्राविधिक शिक्षा, विभिन्न तहको तालिमहरु प्राप्त गरेर आत्मनिर्भर बन्न सकिन्छ। यसरी मधेश प्रदेशमा सबैले रोजगारी प्राप्त गरेको वातावरणको निर्माण हुन्छ । समाज सभ्य सुसंस्कृत बन्न मद्दत पुग्दछ ।

Comment


Related News

Latest News

Trending News