राजविराज । सप्तरीको कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाँमा रहेको एउटा पसलमा ताल्चा फुटाएर लाखौंको धनमाल चोरी गर्ने दुई नाबालकलाई प्रहरीले चोरीको सामानसहित पक्राउ गरेको छ ।
सोही ठाउँका १३ र १४ वर्षीय दुई जना नाबालकहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाइ उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरी भएको थियो । उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनि लुकाइ राखेको अवस्थामा बरामद गरेको छ । अघिल्लो दिन घरबाटै पक्राउ परेकाहरुबारे जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । चोर नाबालक भएकाले उनीहरुको नाम गोप्य राखिएको डिएसपी माधवप्रसाद काफ्लेले बताए । उनीहरुको घरबाट सुडीको पसलमा चोरी गरिएका ४२ हजार २ सय ८० नेपाली तथा ६ हजार २ सय ७० भारतीय रुपियाँ समेत बरामद गरिएको जनाइएको छ । यस्तै सुन जस्तो देखिने ८ तोला २ आना धातुको गहना र ४३ तोला चाँदी जस्तो देखिने धातुको गहना र ६१ हजार २ सय ५० मूल्य बराबरको रिचार्ज कार्ड पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुबैले सुडीको पसलमा चोरी गरेको स्वीकारेका छन् ।
पक्राउ परेका दुबै जनालाई अहिले जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=2s

