प्रथम गणतान्त्रिक शहिद दुर्गानन्द झाको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना गरी मनाइएको छ ।
नेपाल जनता पार्टी मधेश प्रदेश समितिले जनकपुरधामको जनकचोकमा शहीद झाको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो । नेपाल जनता पार्टीका प्रदेश कमिटीका अध्यक्ष दीपक कुमार झाको अध्यक्षतामा भएको सो कार्यक्रममा शहीद दुर्गानन्द झाको स्मृतिमा उनको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्जवलन गरिएको थियो । सो क्रममा सहभागी वक्ताहरुले शहीद झाकै कारण नेपालमा तानाशाही राजतन्त्रको अन्त्यको बीजारोपण भएको बताएका थिए । कार्यक्रममा नेजपाका जितेन्द्र दास, चन्द्र शेखर राय चमन , लोकतान्त्रिक समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य शम्भुनाथ झा (निदोर्षी) ,सत्यम मुरारी, नेजपाका जिल्ला अध्यक्ष जानकी सिंह, सर्लाही जिल्ला अध्यक्ष राम उजैन राय, प्रदेश समिति सदस्य वन्दना पाण्डे सहितकाले शहीद झाको जीवनीबारे चर्चा गरेका थिए । कार्यक्रममा हिन्दू युवा परिषद् का राष्ट्रिय सचिव सुधाकर सिंह, धनुषा जिल्ला मन्त्री विरेन्द्र पाण्डे, युवा अभियन्ता रमापति झा, विद्यार्थी नेता निरज मण्डल सहितको सहभागिता रहेको थियो । पञ्चायती व्यवस्थाबाट उन्मुक्तिसहित गणतन्त्रको माग गर्दै राजा महेन्द्र शाहमाथि जनकपुरधामको जानकी मन्दिरमा गरिएको बम प्रहारको आरोपमा २१ वर्षीय युवक दुर्गानन्द झालाई वि.सं. २०२० सालमा माघ १५ गतेको दिन फाँसी दिइएको थियो ।
प्रजातान्त्रिक आन्दोलनको क्रममा नेपाली कांग्रेसको योजना अनुरुप वि.सं. २०१७ सालमा तात्कालीन राजा महेन्द्र शाहले चालेको निरंकुश कदमको विरुद्ध वि.सं. माघ १९ गतेका दिन उनीमाथि जनकपुर भ्रमणको क्रममा १८ वर्षीय युवक झाले कडा सुरक्षाकाबीच प्रहरीलाई चक्मा दिँदै जनकपुरधामको जानकी मन्दिरको प्रांगणमा बम (ग्राइनेट) प्रहार गरेका थिए । जनकपुरबाट १४ किलोमिटर दक्षिण नेपाल–भारत सीमानामा रहेको हालको नगराईन नगरपालिकाको जटही गाउँमा देवनारायण झा र सुकमारी देवीको सन्तानको रुपमा वि.सं. १९९९ वैशाख १४ गतेका दिन शहीद दुर्गानन्दको जन्म भएको थियो । बाल्यकालमै उनका पिता देवनारायणको निधनपछि घरको एक्लो सन्तान भएकाले कक्षा दशमा पढ्दा पढ्दै २०१७ सालमा १४ वर्षीया काशीदेवी झासँग उनको विवाह भएको थियो ।

