अपडेट 
२०७८ माघ १६, आईतवार ०८:१४

मुलुकभर बाक्लो हुस्सुसँगै वातावरण चिसिँएको छ । तर, मधेश प्रदेशमा राजनीतिक तापमान उचाईमा पुगेको छ । यस प्रदेशमा दुई साताको अवधिमा नेताहरुबीच आरोप प्रत्यारोपमै सीमित नरही एक अर्काको तेजोभङ्ग गर्ने कुत्सित प्रयासले गर्दा राजनीतिक तापमान उचाई लिएको अनुभूति भइरहेको छ । चार बर्षको निरन्तर प्रयासपछि प्रदेशसभाले माघ ३ गते ‘मधेश प्रदेश’को रुपमा नामाकरण गर्न सफलताप्राप्त ग¥यो । यो विषयलाई पनि मधेश आन्दोलनको देनको रुपमा आत्मसात गर्नुपर्छ । यसको राजनीतिक उपलब्धि र पहिचानका साथै आगामी दिनमा राजनीतिक वृतमा देखिने प्रभावलगायतका विषयमा चर्चापरिचर्चा अहिलेपनि जारी छन् । तर, मधेश प्रदेशको घोषणाको छत्तीस घण्टा नवित्दै भौंतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको रौंतहटको सभाको सम्बोधनको विषय अहिलेसम्म राजनीतिक क्षेत्रमा तरङ्गितनै छन् । प्रदेश नं–२ को पहिचानसहितको नामाकरणको खवरलाई उछिनेर मन्त्री रेणुकुमारी यादवको सम्बोधनको विषयले बेग्लै किसिमका हलचल उत्पन्न गरेको छ । जनमत पार्टीका नेता डा. सिके राउतका साथै सो पार्टीका कार्यकर्ताप्रति आक्रामक शब्दको प्रयोगले मुलुकमा पुनः नयाँ बहशको सूत्रपात भएको छ । सञ्चार जगत, सामाजिक सञ्जालका साथै कतिपय नेता, बुद्धिजीवी र राजनीतिक विश्लेषकले यस विषयमा आ–आफ्ना धारणा राख्दै आइरहेका छन् । जनमत पार्टीका अध्यक्ष डा. राउतले मन्त्री यादवको राजीनामाको माग गरेका छन् । तीन दसकदेखि राजनीतिमा सक्रिय रेणुकुमारी यादव एक अनुभवी महिला नेतृको रुपमा पहिचान बनाएकी छन् । पारवारिक पृष्ठभूमिका कारण राजनीति विरासतमा पाउनु भएकी उहाँ पटक पटक मन्त्रीपनि हुनुभएको छ । तर्कसङ् गतसहित आकर्षकशैलीका भाषणका कारण उहाँको राजनीतिमा राम्रो पकडपनि छ । माघ ५ गते रौंतहटमा आयोजित सभामा सम्भवतः कार्यकर्तामा जोश, जाँगर उत्पन्नगर्न दिनुभएको भाषणको प्रभाव उल्टो परेको देखिन्छ । पदीय मर्यादाको समेत ख्याल नगरी बोल्ने क्रममा संयमता गुमाउँदा उहाँको चौंतर्फी आलोचना भइरहेको छ । आजभोलि, हात हातमा क्यामरावाला मोवाइलफोन छ । यो कुराको हेक्का नराखेकाले उहाँको जोशिलो भाषण यतिखेर, सरकार, पार्टी र स्वयंको लागि ‘निल्नु न ओकल्नु’ अवस्थामा पु¥याएको त होईन् भन्ने चर्चापनि भइरहेको देखिन्छ । रौंतहटमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा बाटोमा मन्त्री यादवलाई अवरोधका साथै कालो झण्डा देखाउने प्रयास जनमत पार्टीको कार्यकर्ताले गरेको थियो । विगत एक महिनादेखि सो पार्टी किसानको माग राखेर आन्दोलनमा उत्रेको र जसपाका कार्यकर्ताप्रति आक्रामक देखिएकाले उहाँ आजित भएर वा आफ्ना कार्यकर्तालाई उत्साहित पार्नका लागि आवेशमा बोल्नु भएको देखिएको छ । सो अभिव्यक्तिले नयाँ मोडमा परिणत हुन थालेपछि माघ १० गते मन्त्री रेणुकुमारी यादवले विज्ञप्तिमार्फत आफ्नो पक्ष राख्नुभएको छ । कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयमानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन उद्देश्यका साथ सो अभिव्यक्ति दिएको उल्लेख गर्नुभएको छ । यसका साथै, उहाँले कसैप्रति हिंसाको प्रयोग र कसैलाई उत्तेजित पार्न नभएको र व्यक्तिगत रुपमा कसैप्रति नभएपनि, त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दै सामान्य रुपमा लिन आग्रहसमेत गर्नुभएको छ । आगामी दिनमा सचेत रहने प्रतिबद्धतासमेत प्रकट गर्नुभएको छ । उहाँले उक्त विज्ञप्तिमार्फत उल्लेख गरिएका शब्दलाई मनन् गर्दा त्यस्तो कुनै गलत मनसाय नरहेको बुझिन्छ । यस विज्ञप्तिलाई जनमत पार्टीले सकारात्मक रुपमा ग्रहण गर्छ कि गर्दैनन्, त्यो पार्टीको निर्णयमा निर्भर गर्छ । तर, जनमत पार्टीलाई पनि आफ्ना कार्यकर्तालाई संयमित राख्नुपर्छ । मुठभेडको अवस्था उत्पन्न हुन नदिनतर्फ सचेत गराउनुपर्छ । उहाँ मात्रै होईन कि थुप्रै राष्ट्रियस्तरका नेताहरुपनि बोल्ने बेलामा होश गुमाउनु हुन्छ । आफ्ना अभिव्यक्तिप्रति दुःख प्रकट गरेपछि विवाद साम्यपनि भएको देखिएको छ । उहाँ मन्त्री पदबाट हटेपनि, नहटेपनि जनमत पार्टीको रणनीति सफल भएको सम्झनुपर्छ । यस प्रदेशमा आफ्नो बर्चस्व कायम गर्न जनमत पार्टीले जसपा पार्टीका नेताहरुलाई मानसिक रुपमा कमजोर पार्ने नीति अख्तियार गरेको देखिन्छ । सो पार्टीको रणनीति पनि हेर्दा के बुझिन्छ भने, जसरी पनि जसपालाई उचाल्ने । यसो गर्दा नेताले आवेशमा धेर्यता राख्न नसक्ने र विचलित हुँदै अनापसनाप बोल्ने छन् र सो विषयलाई मुद्धा बनाउने । भाटाको विरुद्धमा लटुठी बोकेर जसपा उत्रियोस । सरकारसमक्ष माग राख्दा जसपाका कार्यकर्ता आक्रमणमा उत्रेको भनेर मुद्धा बनाउने रणनीतिपनि हुन सक्छ । गल्ति जसको भएपनि दोष ठूलोको टाउकोमैं थुपारिने चलन छ । किनभने, सानो गाडीको गल्तिले दुर्घटना भएको देख्दापनि ठूलो गाडीनै दोषि ठहररिन्छ र क्षतिपूर्ति र सजायको भागिदार हुनुपर्छ । यदि, जसपाले संयमता गुमाउँदै गयो भने छविमा असरपर्छ । जनमत पार्टीलाई गुमाउन त केही छैन् । गुम्यो भने जसपाकै गुम्ने न हो । भनाईको अर्थ, निर्वाचनको परिणाम । नेताको पहिलो पहिचानमा उहाँको बोली, विचार व्यवहारनै हो । यस विषयमा सचेत नरहने नेताहरु बर्षोसम्म राजनीतिमा टिक्न सक्दैनन् । नेतामा जनता एवम् जनताप्रति समर्पणको भावना हुनुपर्छ र कानुनीराज्यको अवधारणलाई पूर्णपालना गर्नका लागि प्रतिबद्ध रहनुपर्छ । ओहोदामा बसेका व्यक्तिलाई सार्वजनिक रुपमा अमर्यादित अभिव्यक्ति दिनबाट बच्नुपर्छ ।

राजनीतिमा छेकवार नीति

नेपालमा प्रजातन्त्र स्थापनापछि छेकवारको राजनीतिले प्रश्रय पाएको छ । पूर्वपञ्चका पार्टीको रुपमा स्थापित राप्रपा(थापा र चन्द)का नेताका कार्यक्रमलाई नेकपा(एमाले) र काँग्रेसका कार्यकर्ताहरु विथोल्ने गर्दथे । नेकपा माओवादी खुल्ला राजनीतिमा पर्दापन गरेपछि कतिपय ठाउँमा काँग्रेस र एमालेका कार्यक्रम हुन नदिन आक्रामक शैलीमा उत्रन्थ्यो । मधेश आन्दोलनको क्रममा एमालेको पार्टी कार्यालयमा तोडफोडका साथै ओलीको सभा हुन नदिने, मधेशमा पस्न नदिने भनेर मधेशवादीदलका कार्यकर्ताहरुले निःषेधको राजनीति शुरु गरेको थियो । कतिपय जिल्लामा एमालेका कार्यालयमा तोडफोड र आगजनीका साथै कुटपिटका घटनापनि भए । सोही निःषेधको राजनीतिको प्रतिकारको रुपमा एमालेले सप्तरीको मलेठमा सभागर्ने घोषणा ग¥यो । अर्कोतर्फ, संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाले कार्यक्रम हुन नदिने अडान लिएका थिए । २०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा नेकपा(एमाले)को कार्यक्रमलाई अवरोध पार्न खोजिएको भनेर प्रहरीले गोली चलाउँदा पाँचजनाको मृत्यु र एक दर्जनबढी घाइते भएका थिए । सोभन्दा पहिले, २०७२ साल माघ ७ गते नेकपाएमाले)को मोरङ्गको रङ्गेलीमा नेकपा(एमाले)को कार्यक्रमलाई मधेशी मोर्चाले विथोल्न खोजेको भनेर प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो । एक पार्टीले अर्को पार्टीलाई निःषेध अर्थात छेकवारको राजनीतिले गर्दा अनाहकमा निर्दोषको ज्यान गएको घाउँ अझैं ताजानै छन् । अव, मधेशमैं जनता समाजवादी पार्टीको कार्यक्रममा अवरोधगर्ने खेल शुरु भएको छ । राजनीतिमा छेकवार नीतिले दुष्परिणाम निम्त्याएको देखिएकाले विगतका घटनाबाट पाठ सिक्नुपर्छ । दुर्भाग्य, राजनीतिक स्वार्थनै सर्वोपरी ठान्नेहरु जनताको मन जित्नतर्फ अग्रसर नभई छेकवारतर्फ उद्दत छन् ।

जनमत पार्टीको रणनीति

जनमत पार्टीको पनि राजनीति थलो मधेशनै हो । मधेशको राजनीतिमा सो पार्टी स्थापित भइसकेका छन् । अव, यो पार्टीलाई जनतामा पहुँच बनाउनु छ । मधेशवादी दलहरुभन्दा फरक देखिने उद्देश्य राखेर योजनाबद्ध ढङ्गले आफ्ना पहुँच बनाउन खोजिएको छ । मधेशवादी दलहरुले उठाउँदै आएका मागभन्दा फरक नीति अख्तियार गरी यतिखेर, किसानको माग र भ्रष्टाचारको मुद्धालाई राजनीतिक अस्त्रको रुपमा प्रयोग गरिरहेका छन् । स्वायत्त मधेशको नारा लिएर राजनीतिमा उत्रदाखेरी डा. सिके राउत गान्धीवादी नीति अपनाएका थिए । आफ्ना स्वायत्त नीति परित्याग गरी राष्ट्रको मूलधारमा समाहित भएपछि क्रमिक रुपमा छुट्टै पहिचान बनाउनका लागि यतिखेर आक्रामक रुप अपनाएका छन् । सो पार्टीका कार्यकर्ताहरु भाटा बोकेरनै सडकमात्र उत्रन थालेका छन् । यसरी, भाटासहित सडकमा उत्रनुको अर्थ जनता समाजवादी पार्टीलाई तर्साउनको लागि खोजिएको रुपमा व्याख्या पनि हुन थालेको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको नेतृत्वको सरकार छ । सरकारको कमीकमजोरीका साथै सो पार्टीका निर्वाचित पदाधिकारीमाथि भ्रष्टाचारको विषय उठाएर कारवाहीको धम्की दिने नीतिपनि अपनाएका छन् । मधेशवादी नेताहरुपनि मधेश आन्दोलनको बलमा स्थापित भएका हुन् । उहाँहरु किसान आन्दोलनबाट स्थापित हुन खोजिएको देखिन्छ । मधेशको उथलपुथल राजनीतिबाट आजित जनतालाई आपूmतिर आकर्षित पार्नका लागि आक्रामक नीति अपनाएको त होईन् । यस्तो अवस्था जारी रह्यो भने मधेश प्रदेशमा ति दुवै पार्टीका कार्यकर्ताबीच कुनैपनि बेला झडपको अवस्था सृजना हुने सम्भावना देखिन्छ । मधेशको राजनीतिक दलको अवस्थालाई हेर्दा २०४८देखि पहिलो मधेश आन्दोलनसम्म काँग्रेसपछि दोश्रो स्थानमा एमालेको वर्चस्व थियो । मधेश आन्दोलनपछि मधेशवादी दलको पकड बन्यो । माओवादीहरुले पनि विस्तारै विस्तारै आफ्ना सङ्गठन विस्तार गरे । मधेश आन्दोलनपछि काँग्रेसको ठूलो जमात मधेशकेन्द्रीत दलतर्फ पलायन ग¥यो । यसका साथै, एमाले, राप्रपा, माओवादीका पनि कतिपय नेता र कार्यकर्ताहरु मधेशकेन्द्रीत दलमा प्रवेश गरे । मधेशमा राजनीति कतिखेर, कोल्टे फेर्ने विषयमा अनुमान लगाउन त्यति सहज छैन् । शत प्रतिशत के हो भने, मधेशका जनतामा लामो समयसम्म कसैको पकड रहेको देखिएन् । मधेशका जनता नेता फेर्नमा धेरै सिपालु छन् । जातीय, क्षेत्रीय, रकमको चलखेल जे गरेपनि, मधेशी जनताले एक दुईजनाबाहेक कसैलाई लगातार निर्वाचित गरेको देखिएन् । कतिपयले जित्नका लागि क्षेत्र परिवर्तन गर्छन् । तर, व्यक्तित्वको पक्कै कदर गर्छ र जिताएर पठाउँछन् । सो कारणले जनमत पार्टीले शान्तिपूर्ण र व्यवस्थित ढङ्गले आफ्ना कार्यलाई निरन्तरता दिँदै रह्यो भने जनताको मन जित्न सक्छ । भाटाले मन जित्दैन उल्टै आक्रोस उत्पन्न गर्छ ।

Comment


Related News

Latest News

Trending News