गरुडा । सरस्वती पुजा नजिकिँदै जाँदा रौतहटका मूर्तिकार हरुलाई मूर्ति बनाउन भ्याइ नभ्याई भएको छ ।
यस वर्षको सरस्वती पूजा आउँदो माघ २३ गते आइतबारका दिन मनाइने भएको छ । सरस्वती पूजा आउन अब चार दिन मात्रै बाँकी रहेकोले मुर्तिकारहरु सरस्वतीको मुर्ति बनाउन निकै व्यस्त देखिएका छन् । प्रत्येक वर्ष विद्यार्थीहरुले श्रीपञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गर्ने गर्दछन् । पूजाको लागि माटोबाट बनाईएको सरस्वती माताको मूर्ति किनेर पूजा गर्नेहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । सरस्वतीको मूर्ति बनाएरै राम्रो आम्दानी लिन र व्यवसाय प्रवद्र्धनकालागि यहाँका कालिगढहरु यतिखेर सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका हुन् । माता सरस्वतीको पूजा अर्चनामा मूर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकोले जिल्लाको गरुडा, मलाहीटोल, कटहरिया, चन्द्रनिगाहपुर, मौलापुर, शिवनगर, हर्षाहा, सदरमुकाम गौर सहित विभिन्न स्थानमा सरस्वती माताको मूर्ति बनाउन कालिगढहरु यतिखेर दिनरात खटिरहेका छन् । एउटा सरस्वतीको मूर्ति तीन हजारदेखि लिएर पाँच हजार सम्ममा बिक्री हुने गरेको मूर्तिकार हरुले बताए । प्रत्येक वर्ष सरस्वती पूजाको बेला १ महिनामा नै मूर्ति बनाएर आफूले १ लाख सम्म आम्दानी गर्दैआएको शिवनगरमा मूर्ति बनाउंदै गरेका माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका मूर्तिकार रंजीत मुखियाले बताए ।
विशेष गरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णाजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग अत्याधिक हुने गरेकोले सिजनल कमाइ पनि राम्रो हुने गरेको उनले बताए । सरस्वती पूजा धार्मिक परम्परा मात्र नभइ ठूलो व्यवसाय समेत रहेको मूर्तिकारहरु बताउंछन् । आफ्नो प्रतिभाबाट विभिन्न पूजा अर्चनामा चाहिने भगवानको प्रतिमा बनाएर वार्षिक लाखांैको आम्दानी गर्ने गरेको मूर्तिकारहरुले जनाए । रौतहटका अधिकांश निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पूजाको दिनमा विद्यालयमा मूर्तिको प्रतिमा प्रतिस्थापन गरेर पूजा गर्ने परम्परा रहेको छ ।


