२०७८ माघ २१, शुक्रबार ०७:२५

जनमत पार्टीले गरेको पूर्व–पश्चिम राजमार्ग बन्द प्रभावहीन देखिएको छ ।

किसानको विभिन्न मागहरु राखेर सडकमा उत्रेको जनमत पार्टी ४० दिनदेखि सडक र सदरमुकाममा प्रदर्शन गर्दै आएको छ । राजमार्गमा भएको प्रदर्शन फितलो देखिएको छ । केही प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्न सडकमा उत्रेका प्रदर्शनकारीहरुको संख्या सुरक्षाकर्मीको भन्दा अत्यन्त कम थियो । रौतहट जिल्लाको चन्द्रपुरमा प्रदर्शनकारीहरुलाई चौतर्फी घेरा हालेर सुरक्षाकर्मीहरुले नाराबाजी गर्न दिएका थिए । सुरक्षाकर्मीको बाक्लो घेराबन्दीमा रहेका प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय देखि गौर जाने चोकदेखि केही दक्षिण सम्म चक्कर लगाउँदै नाराबाजी गरेका थिए । सीमित संख्यामा रहेका प्रदर्शनकारीहरुले सडकमा सवारी साधनलाई अवरोध गर्न सकेनन् । तराईको २२ जिल्लामा पर्ने राजमार्ग अवरोध गर्ने प्रयास भएको दावी प्रदर्शनकारीहरुले गरेका छन् ।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई बसन्त कुशवाहाले राजमार्गमा कडा सुरक्षा प्रबन्ध गरिएकाले प्रदर्शनकारीहरुको उपस्थिति कमजोर देखिएको स्वीकारे । ‘विभिन्न ठाउँहरुमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई व्यापक दमन र धरपकड गरेको छ’ उनले भने, सुरक्षाकर्मीहरुको दमनका कारण प्रदर्शनकारीहरुको संख्या केही कम देखिएको हो । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाउँदै उनले भने, ‘केही जिल्लामा झडप पनि भएको छ ।’ मधेश प्रदेशको सिरहा जिल्लामा प्रदर्शनकारीहरुले दुईवटा ट्यांकरको सीसा फुटाएको प्रहरीले जनाएको छ ।सुरक्षाकर्मीले विभिन्न जिल्लाहरुमा ठूलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेका छन् ।नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डीआईजी उमेश रञ्जितकारले राजमार्ग अवरुद्ध गर्नेहरुलाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘सडक अबरुद्ध गर्न खोज्ने ८९जनालाई नियन्त्रणमा लिएको छ ’उनले भने, मुद्दा चलाउने अथवा छाड्ने विषयमा जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ ।सामान्य धक्कामुक्की बाहेक झडप कुनै जिल्लामा नभएको डीआईजी रञ्जितकारले बताए ।

आवश्यकता अनुसार राजमार्गमा सुरक्षाकर्मीको व्यवस्था गरिएको उल्लेख गर्दै उनले भने, राजमार्गमा सवारी साधनलाई रोकेर आन्दोलन गर्नु कानून विपरीत हो । किसानहरुलाई मलखाद, बीउबिजन, पेन्सन लगायतका ११ सुत्रीय माग राखी जनमत पार्टीले ४०दिनदेखि विरोध प्रदर्शन गरिरहेको छ ।पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रमबाट नै सुरु भएको आन्दोलन केही दिन सदरमुकामहरुमा पनि भएको थियो ।राजमार्गमा आन्दोलनकारीमाथि गोली प्रहार गरिएको र कुटपिट गरी घाइते बनाउन थालिएको विरोधमा जनमत पार्टीले सदरमुकामहरु बन्दको घोषणा गरेका थिए ।तर सदरमुकाम बन्दको कार्यक्रम पनि अपेक्षाकृत सफल हुन नसकेको बताइन्छ । पूर्व–पश्चिम राजमार्गमा टेन्ट लगाएर बन्द गर्ने योजनासहित फेरि थालिएको विरोध कार्यक्रमको पहिलो दिनमा सवारी साधन रोक्न जनमत पार्टी नसकेको बताइन्छ । राजमार्गमा स्थानीय बासिन्दाको समर्थन नहुँदा अवरुद्ध गर्ने कार्यक्रम प्रभावहीन भएको बताइन्छ ।विगतमा भएको मधेश आन्दोलनको क्रममा पनि पूर्व–पश्चिम राजमार्ग बन्द कार्यक्रम कमजोर नै रहेको थियो । तराई/मधेशको २२ वटै जिल्लामा राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम रहेको दावी गरिए पनि मधेश प्रदेश बाहेकका जिल्लाहरुमा पनि सवारी साधनलाई रोक्न सकिएन् ।निजी, सरकारी, सार्वजनिक सबै सवारी साधनहरु सडकमा नियमित जस्तै गुडेका थिए । प्रदर्शनकारीहरु नरहेको चोकहरुमा समेत सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

Comment


Related News

Latest News

Trending News