जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा दुई जनाले दाबी गरे पछि विवाद उत्पन्न भएको छ ।
नगरपालिकाका शिक्षा शाखाका अधिकृत धीरेन्द्रलाल कर्ण र प्रशासन तर्फका प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डल दुबै जनाले अधिकृतमा दाबी गरे पछि विवाद उत्पन्न भएको हो । विवादको कारण नगरपालिकाको दैनिक कामकाज प्रभावित बनेको छ । एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शिक्षा शाखा अधिकृत कर्णको ठाउँमा मण्डलले पनि दाबी गरे पछि रामगोपालपुर नगरपालिकामा हाकिम को हो भन्ने कुरोमा विवाद उत्पन्न भएको मेयर अशोक कुमार मण्डलले बताए । स्थानीय तहमा समायोजन भएका कर्ण आठौं तहका शिक्षा सेवा प्रशासन तर्फका कर्मचारी हुन्। जिम्मेवारीमा रहँदा उनले व्यापक आर्थिक अनियमितता गरेको आरोप समेत लगाउँदै मेयर मण्डलले उनलाई कामकाज गर्नबाट रोक लगाएका छन् । मेयर मण्डलकै पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत २५ पुसमा कर्णलाई दिएको जिम्मेवारी फिर्ता लिंदै उनको ठाउँमा शिवेन्द्रकुमार मण्डललाई पठाएको थियो । मण्डल नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूह राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी हुन् । मण्डल यसअघि जनकपुरधाममा रहेको श्रम कार्यालयका प्रमुख थिए । माघ १४ गते कर्णले सामान्य प्रशासन मन्त्रालयबाट आफूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र देखाउँदै सो पदमा दाबी गरे पछि विवाद सुरु भएको थियो ।
माघ १६ गते १३ जना कार्यपालिका सदस्य सहित आफू नगरपालिका कार्यालयमा हाजिर भएको उनको भनाइ छ । मेयर मण्डलले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी विवादबारे जानकारी गराएका छन् । १४ माघमा सामान्य प्रशासन मन्त्रालयले कर्णलाई आर्थिक तथा प्रशानिक काम गर्न दिनु भनेकै दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मण्डललाई महोत्तरीकै लोहारपट्टी नगरपालिकामा सोही पदमा काज सरुवा गरेको कुरा पत्रमा उल्लेख छ भने कर्णलाई मन्त्रालयले जिम्मेवारी दिएको पत्रमा प्रमुख प्रशासकीय अधिकृत नआउदाँसम्म नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्न भनि उल्लेख गरिएको छ। यता मेयर मण्डलले प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै शिक्षा अधिकृत कर्णलाई कार्यालयको आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिनु कानून सम्मत नभएको दाबी गर्दै उनले कर्णलाई जिम्मेवारी दिन नचाहेको स्पष्ट गरे । मेयर मण्डलले यही १६ माघमा कर्णलाई फिर्ता पठाएको बारे सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो । पत्रमा कर्ण जिम्मेवारीमा रहेका बेला कार्यालयको रकम हिनामिना गरेको आरोप मेयरले लगाएका छन् । कार्यालयमा काट्नुपर्ने चेक लेखासँग कुरा मिलाएर जनकपुर गई काटेर कर्णले आर्थिक हिनामिना गरेको मेयर मण्डलले आरोप लगाए । मेयर मण्डलले भने, ‘कर्ण प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा लेखासँग मिलेर व्यापक रकम हिनामिना गरेका थिए । फिल्डमा जाँदा उपभोक्ता समितिसँग कमिशन मागे । उनले कार्यालय प्रयोजनमा सरसल्लाह नगरी लाखौं रकम समेत खर्च गरेको उनले बताए ।
मेयर मण्डलले कर्णले गत आर्थिक वर्षको असार मसान्तमा काम सम्पन्न भएका दर्जनभन्दा बढी योजनाको भुक्तानी नदिएको र केही वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्यसँगको सेटिङमा उनीहरूको सबै भुक्तानी दिएको आरोप समेत लगाए । यता कर्णले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् । त्यस्तै अर्का प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मण्डलले मन्त्रालयले आफूलाई सरुवा गरेको कुनै पत्र प्राप्त नगरेको दाबी गरेका छन् । उनले वरिष्ठताका आधारमा प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था नरहेको तर्क समेत गरे। सामान्य प्रशासन मन्त्रालयको बदमासीले नगरपालिकामा प्रशासकीय अधिकृतको विषयमा विवाद भएको आरोप स्थानीयले लगाएका छन् ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=3s

