अपडेट 
२०७८ माघ २१, शुक्रबार ०७:३९

वालि पम्पापुरका एक कुशल राजा थिए । वहाँको भाइको नाम सुग्रीव थियो । दुबै भाइ निकै वलवान थिए । वालि देवताका राजा इन्द्र तथा सुग्रीव प्रकासका राजा सूर्यका पुत्र थिए । आमा एउटै भएपनि पिता अलग/अलग थिए । वालिको जन्म कपाल (बाल) वाट भएको हुनाले उहाँको नाम वालि र सुग्रीवको जन्म ग्रीवाबाट भएको हुनाले उहाँको नाम सुग्रीव राखियो । वालिलाई व्रह्माजीको वरदानबाट जो उनीसँग लड्न आउँछ सम्मुख पर्ने वितिकै शत्रुको आधाबल वालिलाई जानेछ भनी वरदान पाएकोले कसैले पनि वालिलाई अगाडि परेर युद्ध गरी जित्न नसक्ने भएकोले भगवान रामले पनि लुकेर प्रहार गर्नु भएको हो भनी केही रामायणहरूमा उल्लेख गरिएको पाइन्छ । यसरी वालिले ठूल–ठूला बलशाली राक्षसहरूलाई पम्पापुरबाट धपाएका थिए । वालिलाई सामुनेबाट मार्न असम्भवै थियो त्यसैले रामले सातवटा तारका रूखलाई छेदी खसाउँदै वालिलाई वध गरेका थिए । यहाँ प्रश्न अलिकति बाझिएको देखिन्छ । यहाँ प्रश्न उठ्छ के रामले वालिलाई हत्या गर्नु पाप थियो त ! होइन भने कसरी या हो भने कसरी, दुबैको उत्तर यस लेख मार्फत पाठक समक्ष पुर्याउने कोसिस गरिएको छ । सकभर यसलेखलाई अध्यात्मक तथा भौतिक पक्षीय विद्वानका विचारलाई तुलनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । हुनत यस्ता अध्यात्म कुरालाई भौतिक रूपले समीक्षा गर्नु निकै कठिनाइ हुँदो रहेछ । तर पनि लेखकले यसलाई भौतिक रूपले समेत विश्लेषण गर्ने प्रयास गरेको छ ।

अति वलशाली वालिलाई भगवान रामको वाण लागिसकेपछि वालिले भनेका थिए कि हे प्रभो मैले तपाईंको के विगार गरेको थिएँ र ? दुबै राज्यका बीचमा कुनै किसिमको दुश्मनी पनि थिएन ? किन चोर झैं लुकी मलाइ वध गर्नु भयो ? तपाईं आफ् नो कीर्तिलाई पनि किन दाउमा राख्नुभयो ? वालिको कुरालाई अध्यात्मक रामायणले अझ प्रष्ट पारेको देखिन्छ । यस रामायण अनुसार वालिले भन्नुभयो– म वानर जाति, वानरको माँसलाई भक्षण गर्न पनि बर्जित गरेको छ, म जस्ता अभक्ष पशुलाई मारेर किन आफ्नो यश घटाउनु भयो र सुग्रीवलाई मित्र बनाउनु भयो ? फेरि वलवीर्यको कुरा गर्दा मभन्दा कमजोरसँग मित्रता गरेको र मलाइ आज्ञा भएको भए एकै क्षणमा रावणको शाखा–सन्तानलाई बाँधेर तपाईंलाई सुम्पि दिन्थें भनेर वालिले भनेको प्रसङ्ग उल्लेख गरेको पाइन्छ । त्यसपछि भगवान राम भन्नुहुन्छ, हे वालि तिमीले आफ्नो भाइको श्रीमती भाइबुहारीलाई हरण गरेका थियौ । भान्जी, भाउजू, वहिनी र भाइबुहारी यी चार जनासँग यौन सम्बन्ध राख्नु हाम्रो समाजमा धर्म विरोधी पापी सरह ठान्दछन् । त्यसै पापीको मुखमा मेरा दृष्टि नजाउन भने लुकेको हुँ । त्यसपछि वालिको जबाब आउँछ, हे प्रभु ! तपाईं मानव समाजको कुरा गर्दै हुनुहुन्छ, हामी त वाँदर (वानर) अर्थात नर नभएर वा–नर भएको हुँदा के बुहारी, के भान्जी, के बहिनी, के भाइबुहारी स्पष्ट रूपमा छुट् याउन समेत नसक्ने भएको र हामीहरू आफ्ना घर समेत नभई जङ्गलमा बस्नु पर्ने भएकोले यसको भेद नभएको हुँदा के को पाप लाग्नु ? फेरि तपाईंहरू घर दरबारमा बसी बस्त्र समेतको संसर्गले लज्जाको ख्याल गर्नुपर्ने तर हामीहरूलाई त प्रकृतिले नै आवरण बस्त्रको आवश्यकता नपर्ने भएको हुँदा हाम्रो समाजमा पाप धर्मको भेद हुँदैन । त्यस कारणले हाम्रो समाजमा यस्ता कर्मलाई पाप मानिँदैन । फेरि मेरा पाप कर्म भएको भए हजुरले किन मलाई विशुद्ध दिव्य स्वरूपको दर्शन दिनुहुन्थ्यो?

भन्दा भगवान आफूले गरेको कर्मलाई ठीक गरेको भनी भन्न नसकी त्यसै हाँसी मात्र दिनुभयो । यस प्रसङ्गलाई गहिरो अध्ययन गर्दा यस बारे रामायणहरूमा पनि समान विचार आएको देखिँदैन । यस सन्दर्भमा बर्तमान समयका रामायणका पाठकहरूका बीच्मा दुई पक्ष देखिन्छ । पहिलो पक्षको के धारणा छ भने भगवानका यस्ता कर्म आफ्ना लागि नभएर भक्तहरूका लागि मात्र गर्नुभएको छ । भगवान जहिले पनि भक्तको पराधिन रहनु हुन्छ । यसै सन्दर्भमा एउटा संस्कृतको सानो श्लोकलाई स्मरण गर्नु सान्दर्भिक देखिन्छ ः ‘‘अहं भक्त पराधिनः ।” यसरी यस्ता वाणीलाई चरितार्थ गर्न यस्ता धर्मले नदिएको मार्गमा जानु उहाँको आफ् नो बडप्पन हो र आफू अलोकप्रिय भए पनि भक्तको रक्षा गर्ने भगवानको स्वभाव हो भनी विद्वानवर्गले विभिन्न प्रसङ्गमा उजागर गरेका छन् । यस्ता विचार अन्धभक्तका लागि एकछिनलाई ठीक भएपनि यसलाई चिरफार गर्दा यसलाई सही मान्न सकिँदैन । यस बारे निकै धेरै तर्क वितर्क गरेर अगाडि बढ्नु उचित देखिन्छ । पहिलो पक्षका विद्वानहरूका भनाइमा वालिलाई ब्रह्माजीको वरदानबाट जो उनीसँग युद्ध गर्न आउँछ सम्मुख पर्ने बितिकै शत्रुको आधाबल वालिलाई जानेछ भनि वरदान पाएकोले कसैले पनि वालिलाई सामुनेबाट युद्ध गरी जित्न नसक्ने भएकोले भगवान रामले लुकेर वाण प्रहार गर्नु भएको हो भनी केही रामायणमा समेत उल्लेख गरिएको पाइन्छ । अर्कोतिर दोस्रो पक्षको के तर्क छ भने राम एक मर्यादापालक हुनुहुन्थ्यो । वहाँबाट वालिलाई लुकेर बध गर्नु क्षत्रिय मर्यादाको विपरीत थियो । भगवान रामले कहिले पनि स्त्री र निर्वल मानिसमाथि प्रहार गर्नु भएको देखिएन । तर वालि जस्तो वीर वानरलाई चोरेर पछिबाट वध गर्नु क्षत्रिय धर्मको विरूद्ध हो । राम त ईश्वरका अवतार हुनुहुन्थ्यो । वहाँका लागि सामुनेबाट युद्ध गरी मार्न त कसैले रोको थिएन वरू सुग्रीवले त वहाँलाई साथ दिएकै थिए । युद्धबाट परास्त गरी मार्नु बेग्लै कुरा हो । हुन सक्छ युद्ध हुनुभन्दा अघि नै वालिले सेलेण्डर गरेर आफ्ना गल्ती स्वीकार गर्न सक्थें ।

राम त निकै तल खसेका, पाप गरेका, उधम जस्ता मानिसलाई पनि उद्धार गरेका कुरा विभिन्न धर्मशास्त्रमा उल्लेख छन् । त्यसैले राम जस्तो पराक्रमी, मर्यादापालक, दयालु, भक्तवत्सल महापुरूषका लागि यस्ता वध सुहाउँदो देखिएन । हुनत केही अति अन्ध धर्मभीरू भक्तहरूको के भनाइ छ भने पापीलाई जहाँबाट जसरी मारे पनि धर्म विरूद्ध हुनै सक्दैन । रामको मानव जातिमा जन्म लिनुको मूल मर्म नै त्यही थियो ? त्यसैले वहाँले जस–जसलाई आफ्ना वाणले वध गर्नु भयो ती सबै धर्म भित्रै लिनु उचित देखिन्छ । यसलाई अधर्म भन्नु भनेको सनातन धर्मको विरूद्ध मान्न सकिन्छ । आजका भौतिकवादी अध्येताहरूका नास्तिक विचारलाई धर्मसँग दाँज्न मिल्दैन । यस्ता कुरा हाम्रो धर्म विरूद्धका कुरा हुन् । धर्मले सधैं मानव कल्याणलाई हेरेको हुन्छ । मानव कल्याणका विरूद्धमा गर्ने कुनै कार्यलाई धर्म विरोधी कार्यभित्र लिन सकिन्छ । अहिले पनि मानसिहरू दुई समूहमा विभक्त छन् । एउटा समूहले समूहगत रूपमा मानव कल्याणका कुरा गर्छन भने अर्को समूहले व्यक्तिको निजी स्वार्थलाई अगाडि राखेर काम गरेका हुन्छन् । जो मानिस निजी स्वार्थमा डुबेर काम गर्छ भने उसले यस्ता अधर्मको बाटो तिर बढी लागेको देखिन्छ । अहिले पनि मान्छे रावण रूपी व्यवहारबाट अलग भएकालाई नै असल धार्मिक मानिसहरूका समूहभित्र राख्न सकिन्छ । वालि पम्पापुर राज्यमा राम्ररी राज्य संचालन गरेका भएपनि आफ्नो मनको घमण्डलाई त्याग्न सकेन । वहाँले ब्रह्माबाट पाएको बरदानले गर्दा के सोच्न थाले कि म जस्तो बलशाली पृथ्वीमा अरू कोही छैन । मलाइ कसैले पनि हराउन सक्दैन । अर्कोतिर त्यसबेलाको वानर जाति मानव जस्तै सचेत अवस्थामा थिए । उनीहरू सबैका स्त्री पूर्ण मानव नै थिइन् । त्यसलाई जंगली वनारसँग तुलना गर्न मिल्दैन । त्यसबेला पनि वालि सुग्रीव लगायतमा यस्ता गुण तथा चेतना विद्यमान रहेकाले जंगली वानरसँग तुलना गर्न मिल्दैन । बलशाली वालिले वानरको उपमा दिएर म जे गरे सबै ठीक छन् भने प्रमाािण्त गर्न मात्र खोजेका थिए । त्यस्तो कहाँ हुन्छ र !

त्यसैले भगवान राम उसलाई जे दण्ड दिनुभयो त्यो शतप्रतिशत धर्म तथा शास्त्रसँग मिल्दोजुल्दो छ । यसमा वालिलाई वध गर्नु पछाडि रामलाई कुनै लोभ पनि थिएन । यदि लोभ भएको भए पम्पापुर जस्ता समृद्ध राज्यलाई आफ्नै अधिनमा लिन्थे होला । तर भगवानले वालिलाई संहार गरी त्यो राज्य उनकै भाइ सुग्रीवलाई फर्काइ दिनुभयो र वालिपुत्र अंगदलाई युवराज घोषणा गर्नु भयो । यसबाट पनि प्रमाणित हुन्छ कि भगवान रामले निस्वार्थ भावनाबाट सुग्रीवलाई सहयोग गरेका थिए । यस्तै वालि पापी अधर्मी भएपनि अन्तिम समयमा भगवान रामले आफ्नै वाणले मरणान्त पारी दिव्य विराट स्वरूपको दर्शन दिई स्वधाम पठाइ उद्धार गर्नु भयो । यस्ता कुराले सधैंका लागि पम्पापुरमा देखिएका अधर्म समाप्त भयो र धर्म परम्पराको पुनः स्थापना भयो । त्यस पछि पम्पापुरमा निरन्तर धर्मको विधि विधान अनुसार शासन चलेको देखियो । अस्तु ।

लेखक : त्रिविका अवकाशप्राप्त सह–प्राध्यापक एवं अन्वेषक हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News