जनकपुरधाम । हावाहुरी र वर्षाका कारण मधेश प्रदेशको प्रदेश सभाको चौंथो बार्षिकोत्सवको कार्यक्रम स्थगित भएको छ ।
शुक्रबार बिहानदेखि नै मधेश प्रदेशका जिल्लाहरुमा हावाहुरीका साथै वर्षा भएकोले प्रदेश सभा सचिवालयले सार्वजनिक कार्यक्रमका लागि बनाएको मञ्ंच नै पटक पटक ढलेपछि उक्त कार्यक्रम स्थगित गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सभाको वार्षिकोत्सवमा प्रदेश सभा सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम निर्धारण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलहरुमा विजयी प्रदेहसभा सदस्यलाई पुरस्कृत तथा सम्मान कार्यक्रम निर्धारण गरिएको थियो । त्यसैगरी सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने प्रदेशसभा सदस्य र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेकोमा प्रतिकूल मौसमका कारण रक्तदानबाहेक अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्नु परेको सभामुख सरोज कुमार यादवले बताए । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रदेशसभा सदस्य तथा मन्त्रीहरु आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भए पछि उनीहरु फर्केका थिए । प्रदेश सभा स्थापना भएको ४ वर्ष भएको छ । यी चार वर्षमा प्रदेश सभाबाट गत माघ तीन गते प्रदेशले नामकरण र स्थायी राजधानी पाएका थिए । चार वर्षको अवधिमा प्रदेश सभाबाट विभिन्न ४२ वटा ऐन पारित भएको छ ।
पारित भएका ऐनहरु मध्ये केही ऐन कार्यान्वयनमा आएको छ भने कतिपय ऐन संघीय सरकारको उदासीनताका कारण कार्यान्वयन हुन सकेको छैन । प्रदेश प्रहरी प्रदेश सभाबाट पास भएको झण्डै दुई वर्ष भएको छ । तर संघीय सरकारले प्रहरी समायोजन नगर्दा प्रदेश प्रहरी ऐन कार्यान्वयनमा आउन नसकेको आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले बताए । प्रदेश प्रहरीको अभावमा प्रदेश सुरक्षाको रेखदेख संघीय सरकार कै मातहत अहिले सम्म रहेको छ । चार वर्षको अवधिमा बेटी पढाउ , बेटी बचाउ , छोरीलाई बीमा , साइकल वितरण , सौन्दर्यकरण लगायतका कार्यक्रम पनि उल्लेख्य छ ।

