अपडेट 
२०७८ माघ २२, शनिबार ०८:२२

गौर । रौतहट जिल्लाको सदरमुकाम गौरमा निर्माण भएको रक्त संञ्चार भवनको उद्घाटन भएको छ ।

वर्षौदेखि नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाले जिल्ला अस्पतालमा सञ्चालन गर्दै आएको रक्त सञ्चार सेवा अबदेखि आफ्नै भवनबाट संचालन हुने भएको छ । गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३५ लाखको लागतमा निर्माण भएको सो ब्लड बैंकको भवनको शुक्रबार आयोजित एक कार्यक्रम बीच गौर नपाका प्रमुख अजय कुमार गुप्ताले उदघाटन गरेका हुन् । कार्यक्रममा गुप्ताले गौरमा रक्त सञ्चार भवनको निर्माण गर्ने गौर नपा दृढ संकल्प पूरा भएको बताए । मानवको लागि रक्त महत्वपूर्ण भएकोले सहज रुपमा चाहिने बेलामा रगत प्राप्त गर्न सकिने सजिलो भएको उल्लेख गर्दै नेपाल रेडक्रस सोसाईटी र गौर नगरपालिकाको सम्बन्ध सधैं रहिरहने बताए । जिल्लामा आकस्मिक रगतको आवश्यकता परेको बेला सर्वसाधारणलाई भौंतारिनु पर्ने अवस्था देखेर नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको योजनामा नगरपालिकाले भवन निर्माणको प्रक्रिया थालनी गरेको बताउंदै मेयर गुप्ताले अन्य नगरपालिकाका प्रमुखले सहयोग गर्ने प्रतिवद्धता जनाएर पनि सहयोग दिन नसकेको गुनासो गरे । रेडक्रस मानव सेवाको क्षेत्रमा कार्य गर्ने सार्वजनिक संस्था भएकोले सबैले सहयोग गर्नु पर्ने धारणा राख्दै मेयर गुप्ताले रक्त संचार सेवा सञ्चालनको लागि चाहिने उपकरण व्यवस्थापनको लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा रेडक्रसका सभापति संजिब कुमार मल्लिकले रेडक्रसले देखेको सपना नगर प्रमुख गुप्ताको कारणले पूरा भएकोमा हर्षित भएको बताए । उनले गौर नगरपालिका बाहेक माधव नारायण नगरपालिकाले–५ लाख रुपैयाँ भवन निर्माणमा सहयोग गरेको उल्लेख गरे ।

१६ नगरपालिका तथा दुई गाउंपालिका गरी १८ स्थानीय तहका प्रमुखहरुले ब्लड बैंकको स्थापनाको लागि १० लाखका दरले आर्थिक सहयोग दिने प्रतिबद्धता गरे पनि १६ वटा स्थानीय तहका प्रमुखले सो पूरा गर्न नसकेको दुखेसो पोखे । मानव सेवाकालागि समर्पित नेपाल रेडक्रसले विभिन्न प्रकोपको समयमा मानवीय सहायता गर्दै आएको जिकिर गरे । सभापति मल्लिकले रगत जुन सुकै बेला कसैलाई पनि आवश्यकता पर्न सकिने भएकोले रक्त सञ्चार भवनको निर्माण आवश्यकता रहेकोमा सो आवश्यकता पूरा भएकोमा खुशी समेत व्यक्त गरे । सुरक्षा निकाय तथा विभिन्न संस्था क्लब एवं व्यक्तिहरुले समय समयमा गरिँदै आएका रगत दानले धेरै व्यक्तिलाई जीवन प्राप्त भएको बताउंदै सबै रगत दाताहरु प्रति सम्मान व्यक्त गरे । उद्घाटन समारोहमा जिल्ला उप सभापति राज किशोर यादव , जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साह ,नेपाल नागरिक समाजका अध्यक्ष जग्गनाथ प्रसाद कसरीले भवन निर्माण भए पछि यसलाई आधुनिकीकरण गरी सञ्चालन गर्नु पर्नेमा जोड दिए । शाखाका मन्त्री विनोद कुमार गिरीले सञ्चालन गरेको कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक विनोद घिमिर,वडा अध्यक्ष राम स्वार्थ यादव , भुवनेश्वर शाही,लगायत नेपाल रेडक्रस सोसाईटीका पदाधिकारी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News