गौर । रौतहटको माधवनारायण नगरपालिकाको नगर सभाको छैठौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
नगर प्रमुख वीरेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख सिमल कुमारी साहको विशिष्ट आतिथ्यमा नगर अधिवेशन सम्पन्न भएको हो । गत असार मसान्तमा सम्पन्न भएको नगरपालिकाको पाँचौ नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा थपघट वा संशोधन गर्न छैठौं नगर अधिवेशनको आयोजना गरिएको नगर प्रमुख वीरेन्द्र प्रसाद यादवले जानकारी दिए । । यस अघिका नगर सभाबाट पारित भएका नीति, कार्यक्रम तथा योजना अहिले थपघट वा परिवर्तन नगर अधिवेशनद्धारा मात्र गर्नुपर्ने कानूनी प्रावधान भएको र नगरको केही वडाहरुमा योजनाहरु संशोधन गर्नु पर्ने भएकोले नगर अधिवेशन बोलाउनु परेको नगर प्रमुख यादवले बताए । यसअघिको नगरसभाबाट विभिन्न वडामा सञ्चालन गर्न पारित भएको योजनाहरु विभिन्न कारणले अहिले सञ्चालन नहुने अवस्था रहेकोले उक्त योजना सञ्चालन नहुँदा त्यस योजनाको बजेट फ्रिज हुने भएकोले बजेट फ्रिज हुन नदिन त्यस योजनाको रकम अर्को काममा खर्च गरेर फ्रिज हुनबाट जोगाउन नगर अधिवेशनको आयोजना गरिएको उनले प्रष्ट गरे । यस नगर अधिवेशनबाट विभिन्न वडामा यसअघिको नगरसभाबाट पारित भइ केही कारणले सञ्चालन हुन नसकेको विकास योजनाहरुलाई संशोधन गर्ने काम मात्र गरिने उनले बताए ।
नगर अधिवेशनमा योजनाहरु संशोधन गर्नु बाहेक यसअघिका नगरसभाले पारित गरेको कुनै पनि शीर्षकको बजेट थपघट वा बजेट बाडँफाँड गर्न नमिल्ने नगर उप–प्रमुख सिमल कुमारी साहले बताइन् । असारमा सम्पन्न भएको नगरपालिकाको पाँचौ नगरसभाले यस चालु आर्थिक वर्षमा नगरको समग्र विकासका लागि नीती तथा कार्यक्रम कार्यान्वयन गर्न ४० करोड भन्दा बढी बजेट पारित गरेको थियो । कार्यक्रममा वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, पत्रकार सहितको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन योजना शाखाका प्रमुख कृषनन्दन यादवले गरेका थिए ।

