जनकपुरधाम । मधेश प्रदेश सभामा संसदीय समितिहरुको नेतृत्व चयन प्रक्रिया सोमवारदेखि शुरु हुँदै छ ।
लामो समयदेखि प्रदेशसभाका तीन वटा संसदीय समिति सभापतिविहीन रहेको छ ।सातमध्ये तीन वटा संसदीय समिति सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका निर्वाचन प्रक्रिया शुरु हुन लागेको हो । अहिले सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले तीन र प्रमुख विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको एक गरी विभिन्न ४ वटा संसदीय समितिमा सभापति रहेका छन् । रिक्त रहेका समितिहरुको सभापति चयनको प्रक्रिया शुरु भएसँगै सत्तारुढ दल र विपक्षी दलहरु पनि सक्रिय भएका छन् । सत्तारुढ दल जसपा, काँग्रेस,नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) र माओवादी केन्द्र पनि ती समितिहरुमा आफ्नो नेतृत्व दावी गरिरहेका छन् । भने लोसपाले संवैधानिक व्यवस्थामा सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने मान्यता रहेकोले सो समितिको नेतृत्व आफुहरुले पाउनु पर्ने माग गरिरहेको छ । त्यस्तै, विपक्षी दल नेकपा एमाले आफुहरुले एउटा पनि समिति अहिलेसम्म नपाएको भन्दै तीनमध्ये एउटा कुनै समिति पाउनु पर्ने माग गर्दै आएको छ । काँग्रेसले भने आफुहरुले एउटा पनि समिति नपाएको भन्दै सार्वजनिक लेखा समिति पाउनुपर्ने दावी गर्दै आएको छ ।
माओवादी केन्द्र र नेकपा एसले तीन मध्ये कुनै एउटा समितिको नेतृत्वको लिन जोडबल गरिरहेको छ । यस्तो अवस्थामा अहिलेसम्म दलहरु कुनै निर्णयमा पुग्न नसकेको स्थिति देखिएको छ । आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले अहिले सम्म संसदीय समितिहरुको सभापति नेतृत्वको लागि सत्तारुढ दल र विपक्षी दलहरुसँग अलग अलग छलफल भइरहेको बताए । ‘अहिले सम्म सहमति हुने सकेको छैन, हामी अझै छलफलमै छौ, मन्त्री साहले भने,‘भोलि आइतवार साझ सम्म कुनै निर्णय हुन्छ ।’ प्रदेश सभा सचिवालयका सचिव रंजित यादवका अनुसार यी तिनै समितिको समिति भित्रै निर्वाचन हुने बताए । सोमवार तीनै समितिमा सभापतिका उम्मेदवारहरुले आफ् नो आफ्नो समितिमा प्रस्ताव दर्ता गराउने छन् र त्यसमा एक जनाले मात्रै प्रस्ताव दर्ता गराएमा त्यो सर्वसम्मत हुने र दुई जनाले दर्ता गराएमा वहुमत प्राप्त उम्मेदवारलाई सभापतिमा चयन गरिने छ । लेखा समितिका सभापति नहुँदा वरिष्ठसदस्य लगनलाल चौधरीले समितिको नेतृत्व गर्दे सो वापत समितिका सभापति पाउने गाडी सुविधा पनि उपभोग गरिरहेको बुझिएको छ ।

