जनकपुरधाम । मधेश प्रदेश सभामा रिक्त रहेका विभिन्न तीन वटा संसदीय समिति सत्तारुढ दलहरुले बाडफाँड गरेको छ ।
आईतबार भएको सत्तारुढ दलहरुको बैठकले सभामा लामो समयदेखि रिक्त रहेको समितिहरु सार्वजनिक लेखा समिति, कृषि तथा भुमि व्यवस्था समिति र प्राकृतिक प्रकोप समिति सत्तारुढ दलले भागबण्डा गरेको छ । स्रोतका अनुसार सार्वजनिक लेखा समिति नेपाली काँग्रेस, कृषि तथा भुमि व्यवस्था समिति नेकपा एकीकृत समाजवादी पार्टी र प्राकृतिक स्रोत तथा वातावरण समिति माओवादी केन्द्रले पाएको छ । सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टीले पहिलेदेखि नै विभिन्न तीन वटा समिति पाएको छ । समाजवादीका मनिष सुमनले अर्थ तथा योजना समिति, अब्दुल कलाम आजादले विकास समिति र अशोक यादव प्रदेश मामिला समितिको सभापति रहेका छन् । सोमबारदेखि रिक्त रहेको समितिहरुको सभापति चयनको लागि प्रक्रिया सुरु हुदै छ । तर सत्तारुढ दलहरुले भागबण्डा गरेपछि अब ती समितिको सभापतिमा सत्तारुढ दलकै सांसद हुने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीले सार्वजनिक लेखा समितिको सभापति पाउनु पर्ने माग गर्दै आएको थियो । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने मान्यता रहेकोले उक्त समितिको नेतृत्व लोसपाले पाउनुपर्ने प्रमुख सचेतक परमेशर साहले बताए ।
को को हुदै छन् सभापति ?
रिक्त रहेका विभिन्न समितिको सभापति चयनका लागि कांग्रेस र माओवादी केन्द्र वाहेक सबै दलले समितिका सदस्यहरु समेत आईतबार परिर्वतन गरेको छ । मधेश प्रदेशसभा सचिवालयका सचिव रंजीत यादवका अनुसार नेकपा एकीकृत समाजवादी पार्टीले कृषि तथा भूमि व्यवस्थामा समितिमा सदस्य रहेका रविन्द्र बैठा धोवीलाई अर्थ तथा योजना समितिमा ल्याईएको छ ।
बैठाको स्थानमा अर्थ तथा योजना समितिमा रहेका मदन सेन श्रीवास्तवलाई कृषि तथा भूमि व्यवस्थामा ल्याईएको छ । कृषि तथा भूमि व्यवस्थामा नेकपा एसका दुई जना सदस्य मञ्जु यादव र नयाँ सदस्यको रुपमा श्रीवास्तव रहेका छन् । दलीय भागबण्डामा उक्त समिति नेकपा एसको भागमा परेकोले उक्त समितिको सभापति श्रीवास्तवलाई नै बनाउने स्रोतले जनाएको छ । सभापति बनाउन नै श्रीवास्तवलाई उक्त समितिमा ल्याइएको स्रोतको दाबी छ । त्यसैगरी माओवादी केन्द्रको भागमा परेको प्राकृतिक श्रोत तथा वातावरण समितिमा माओवादीका एक जना सदस्य सांसद जगत प्रसाद यादव मात्रै छन् । यस हिसाबले यादव समितिको सभापति हुने केन्द्रका एक सांसदले बताए । काँग्रेसको भागमा परेको सार्वजनिक लेखा समितिमा तीन जना सांसद सदस्य रहेका छन् । सांसद गीता कुमारी यादव, नरेश कुमार यादव र शिवचन्द्र चौधरी सो समितिका सदस्य रहेका छन् ।
कांग्रेस पार्टीका एक सांसदका अनुसार नरेश कुमार यादव र शिवचन्द्र चौधरी दुबै जना सभापतिका आकाँक्षी छन् । तर कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिका विश्वासिलो पात्र चौधरीलाई सभापति दिने करिब करिब निश्चित रहेको उनले बताईन् ।

