२०७८ माघ २४, सोमबार ०७:४९

राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका– १ धनगढीमा देवरले आफ्नो भाउजुलाई जिउमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको छ ।

तीन दिनअघि देवर परमेश्वर साहले २७ वर्षीया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाईदिएपछि शनिबार राती उपचारको क्रममा उनको मृत्यु भएको छ । मृतकका श्रीमान् रबिनका अनुसार उनले तीन दिनअघि भाईलाई घरको कामकाजमा भाउजुलाई सहयोग गर्न भनेका थिए । भाउजुले नै दाजुलाई कुरा लगाएर आफू बिरुद्ध उक्साएको भन्दै राजकुमारीलाई माघ २१ गते बिहान घरमा खाना पकाउँदै गरेको बेला परमेश्वरले पेट्रोल छर्केर आगो लगाईदिएको रबिनको आरोप छ । उनका अनुसार काँखे छोरीलाई लिएर खाना पकाउँदै गरेको बेला आगो लगाईदिएपछि राजकुमारीले छोरीलाई काँखबाट हुत्याएर आगो लाग्नबाट जोगाएकी थिइन् । आगोले छोरीको ढाड र खुट्टासमेत जलेको र श्रीमतिको उपचारको क्रममा मृत्यु भएको रबिनले बताए । आगोले जलेर घाइते भएकी छोरीको भने स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गरिएको उनले जानकारी दिए । जिउको अधिकांश भाग जलेर गंभीर घाइते भएकी राजकुमारीलाई सुरुमा कल्याणपुरको प्राथमिक स्वास्थ्य केन्द्र र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि विराटनगरको म्याक्स अस्पतालमा लगिए पनि शनिबार राती मृत्यु भएको रबिनले जानकारी दिए ।

आफू घरमा नभएको बेलामा परमेश्वरले राजकुमारीलाई आगो लगाएको बताउँदै उनले भने, “विराटनगर अस्पतालमा उपचारकै बेला प्रहरीले आएर बयान लिँदा राजकुमारीले देवर परमेश्वरले नै आगो लगाएको बयान दिएकी छिन् ।” जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले सो घटनाबारे जाहेरी आएको तथा हत्याको फरार आरोपी परमेश्वरको खोजतलास जारी रहेको जानकारी दिए । आइतबार कोशी अस्पताल विराटनगरमा शवको परीक्षण गरी आफन्तलाई बुझाइएको छ भने आइतबार नै उनको अन्तिम संस्कार गरिएको छ ।

Comment


Related News

Latest News

Trending News