२०७८ माघ २४, सोमबार ०७:५६

जनकपुरधाम । मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले प्रदेश प्रहरी गठन, संचालन तथा भर्नाको माग गर्दै संघीय सरकारलाई दवाव दिने उद्देश्यले प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

संघीय सरकारले प्रहरी सम्बन्धी ऐन र प्रहरी कर्मचारी समायोजन ऐन बनाई राष्ट्रपतिद्वारा प्रमाणीकरण भइसकेको अवस्थामा प्रदेश प्रहरी ऐन बनेको पनि त्यो कार्यान्वयनमा आउन नसकेकोले संकल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराईएको मन्त्री साहले बताए । संकल्प प्रस्ताव सचिवालयमा आईतबार नै दर्ता भए पनि सभामा समय अभावले टेबुल हुन नसकेको मन्त्री साहले जनाए । मन्त्री साहले प्रदेश सभामा दर्ता गराएको पत्रमा प्रदेश प्रहरी गठन, समायोजन, सञ्चालन तथा भर्ना सम्बन्धी प्रक्रिया विगत तीन वर्षदेखि संघीय सरकारले असंवैधानिक तथा गैर कानूनी तरिकाले अवरुद्व गरिरहेकोले बाध्य भइ संकल्प प्रस्ताव पेश गरेको उल्लेख छ । ‘संघीय सरकारको गैर कानूनी र असंबैधानिक कदम विरुद्व अन्य कुनै प्रभावकारी उपायको अभावमा सम्मानित प्रदेशसभा समक्ष बाध्य भइ संकल्प दर्ता गराई प्रदेश प्रहरी गठन तथा भर्ना प्रक्रिया अगाडि बढाउन प्रदेशसभा नियमावली २०७५ को नियम ८५.(१) बमोजिम निर्देशन गर्न पत्रमा उल्लेख गरिएको छ । संविधान विपरीत संघीय सरकारले प्रहरी सम्बन्धी कुनै भर्ना प्रक्रिया अगाडि बढाए प्रदेश सरकार संघीय सरकार विरुद्ध अदालत जाने मन्त्री साहले चेतावनी समेत दिए ।

Comment


Related News

Latest News

Trending News