अपडेट 
२०७८ माघ २४, सोमबार १५:३४

गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ ।

सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए । गृह सचिव पाण्डेले भने–‘गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँछौं ।’

गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ ।

कार्ययोजना अनुसार ६ महिनापछि गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीजन्य उत्पादनको आधारशिला तयार हुने मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुषालले बताए । उनले भने– ‘संयुक्त राष्ट्रसंघको गाँजा खुल्ला गर्ने नीतिमा हामीले हस्ताक्षर गरेका छौं, रिसर्चहरुले पनि गाँजाको औषधीय मूल्य देखाएको छ ।’

विश्वका ७ मुलुकमा गाँजालाई नियन्त्रित रुपमा खेती गर्न अनुमति दिइएको छ । औषधिजन्य प्रयोगका लागि गाँजा खेतीका लागि अनुमति दिन गृहले ‘अवधारणापत्र’ मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । लागु औषध नियन्त्रण ऐन–२०६३ ले पनि नियन्त्रित रुपमा गाँजाको खेती र प्रयोग गर्न नरोकेको सहसचिव भुसालले बताए । उनले भने–‘औषधि व्यवस्था विभाग र वनस्पति विभागबाट व्यवस्थित खेतीका लागि अनुरोध आएको छ ।’

Comment


Related News

Latest News

Trending News