२०७८ माघ २५, मंगलवार ०७:४७

सप्तरीको तिलाठी कोइलाडी गाउंपालिकामा उपाध्यक्षले गरेको तालाबन्दीका कारण कार्यालयको सम्पूर्ण कामकाज ठप्प बनेको छ ।

आफूलाई सूचना नदिएको तथा कर्मचारीले पनि उपेक्षा गर्ने गरेको भन्दै उपाध्यक्ष सुचिता कुमारी यादवले चौँथो पटक गत विहीबार गाउंपालिकाको कार्यालयमा तालाबन्दी गरेकी थिइन् । तालबन्दी अझै पनि जारी रहँदा कार्यालयबाट हुने विभिन्न प्रकारको कामकाज प्रभावित बनेको छ भने स्थानीयवासीहरु सास्ती भोग्न बाध्य बनेका छन् । उनले गाउंपालिकाको योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेकी छिन् । स्थानीय सरकार संचालन ऐन विपरीत काम भएको, आफ्नो अधिकार कटौती गरिएको, महत्वपूर्ण निर्णयहरु गर्दा आफूलाई जानकारी नै नदिने र सूचना माग्दा अध्यक्ष र कर्मचारीहरुले अटेर गरेपछि आफू तालाबन्दी गर्न बाध्य भएको उपाध्यक्ष यादवले बताइन् । यसअघि विभिन्न समयमा सोही कारण देखाउँदै तीन पटक तालाबन्दी गरिसकेकी उनले चौथो पटक गरेको तालाबन्दी गरेर माग पूरा नभएसम्म नखोलिने अडान राखेकी छिन् । उनले यसअघि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको रोहबरमा भएको सहमति पालना समेत नभएपछि बाध्य भइ पुनः तालाबन्दीको बाटो रोज्नु परेको दुखेसो पोखिन् ।

यता गाउंपालिकाका अध्यक्ष सतिश कुमार सिंहले उपाध्यक्षको कुनै अधिकार कटौती नगरिएको र उनले मागेको सूचना समयमै उपलब्ध गराइएको दाबी गरेका छन् । “सबै कामकाज ऐन कानून र अधिकार क्षेत्रमै रहेर गरिएको छ, उनले भने, “चुनाव नजिकिँदै जाँदा मलाई बदनाम गर्न उपाध्यक्षले अनावश्यक बखेडा झिकेकी हुन् ।’ उनले उपाध्यक्ष स्वयम् तथा उनका केही आसेपासेले गाउँपालिकाको बजेटबाट गरेको विकास निर्माणको काममा गुणस्तरीयताको विषयमा कडाइ गर्दा पूर्वाग्रही ढंगले तालाबन्दी गरी गापाको कामकाजमा अवरोध उत्पन्न गरेको आरोप लगाए । सिंह र यादव दुबै तत्कालीन राजपाबाट उम्मेदवार भइ अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । अहिले अध्यक्ष सिंह लोसपा र उपाध्यक्ष यादव जसपामा छिन् । पार्टी विभाजित भएपछि दुबैबीचको विवाद पनि चरममा पुग्दा गाउँपालिकाबाट दिइने सेवासुविधा भने प्रभावित बनेको छ ।

Comment


Related News

Latest News

Trending News