अपडेट 
२०७८ माघ २६, बुधबार ०७:३४

मलंगवा । गत वर्षको तुलनामा सर्लाही जिल्लामा आलु उत्पादनमा कमी आएको देखिएको छ ।

जिल्लाको उत्तर– पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको गुनासो गरिएको छ । बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपालले विगतका वर्ष पनि आलु उत्पादन कमै भएको बताउंदै समयमा मल नपाउँदा यसवर्ष आलु उत्पादनमा धेरै कमि आएको गुनासो पोखे । उत्पादित आलुले बजार समेत नपाएको उनले बताए । प्रतिकिलो २५ देखि ३०रुपियाँमा बीउ किनेर रोपेको आलु अहिले १५रुपियाँ किलोमा बिक्री गर्नु परिरहेको दुखेसो समेत उनले पोखे । भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको किसानहरुको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो १६ रुपियाँ प्रति किलो खेतबाटै बिक्री गरिरहेका छन् । बागमती नगरपालिका– ६ राजघाटका किसान पनिलाल राम भन्छन् ‘आलु लगाउने समयमा युरिया मलको अभाव नै कम उत्पादनको मुख्य कारण हो।’ जिल्लाको बरहथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुर लगायत क्षेत्रमा व्यावसायिक रुपमै आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिने गरिएको बताइन्छ ।

जिल्लाभरिमा एक हजार ४ सय हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलंगवा, चन्द्रपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारणका लागि लैजानुपर्ने बाध्यता रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरले जिल्लामा मलको फिट्टिक्कै अभाव नरहेको बताए ।

Comment


Related News

Latest News

Trending News