जनकपुरधाम । धनुषा प्रहरीले एक जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ ।
जनकपुरधाम उप– महानगरपालिका– १९ थुमौनाका १९ वर्षीय टिका यादवलाई प्रहरीले मंगलबार चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो । यादवले आइतबार ‘म क्राइम ब्रान्चको व्यक्ति हँु भनी मोटरसाइकलको ब्लु बुक निकाल्न लगाई हेरी, मोटरसाईकल चोरीको हो अनुसन्धान गर्न जिल्ला चेक जाँचको लागि लग्नु पर्छ भनी झुक्याई डर त्रास देखाइ प्रदेश –२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र सोको ब्लु बुक लिएर भागेका थिए । चोरी गरेर लगेको घटनाबारे जिप्रकामा आएको सूचनाको आधारमा खटेको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ । ब्लुबुकसँगै मोटरसाइकल समेत फेला पारी चोरी मुद्दामा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
यसैबीच धनुषा प्रहरीले एक जना फरार अभियुक्तलाई समेत पक्राउ गरेको छ । सबैला नगरपालिका– २का ४२ वर्षीय मोहम्मद लालबाबु कर्तव्य ज्यान मुद्दामा धनुषा जिल्ला अदालतबाट धरौटी तारेखमा रहेर फरार भएको प्रहरीले जनाएको छ । मोहम्मद लाल बाबुलाई पुर्पक्षको क्रममा थुनामा राखी कारवाही गर्ने अदालतले आदेश जारी गरेपछि खोजतलाश गर्दै जाँदा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए । फरार लालबाबुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका मो.लालबाबुलाई आवश्यक कारवाहीको लागि धनुषा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशमा झुमका कारागार पठाइएको समेत जिप्रकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

