२०७८ माघ २७, बिहीबार ०७:२८
प्रहरीले रौतहटको इशनाथ नगरपालिकामा एक विवाहित महिलाको शव फेला पारेको छ ।
इशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव बुधवार बिहान गहुँबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चाँदनी खातुनको मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने इशनाथ–४ मा रहेको गहुँबारीमा शव भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । घिमिरेका अनुसार मृतक महिलाको चार वर्ष अघि इशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भए पनि उनी माइतीमै बस्दै आएकी थिइन् । उनका श्रीमानले मंगलबार राती फोन गरेर बोलाएपछि चाँदनी घरबाट निस्किएकी प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

