अपडेट 
२०७८ माघ २९, शनिबार ०७:५२

गरुडा । प्रत्येक वर्ष झैं यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठूलो काठको फर्निचर मेला शुरु भएको छ ।

श्रीपञ्चमीको अवसरमा नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा जिल्लाको मध्य भाग जयनगरमा काठको ठूलो फर्निचर मेलाको आयोजना गरिएको छ । गरुडा नगरपालिका–१ जयनगरमा प्रत्येक वर्ष श्रीपञ्चमी देखि सुरु भई झण्डै दुई महिनासम्म चल्ने फर्निचर मेला यस वर्ष पनि आयोजना गरिएको छ । जिल्लाको ग्रामीण क्षेत्र जयनगरमा आयोजना हुने फर्निचर मेलालाई सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेला मानिएको छ । मेलामा घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ । मेलामा रौतहट, सर्लाही, महोतरी, बारा, पर्सा लगायत जिल्लाका फर्निचरका व्यवसायीहरुको सहभागिता रहेको छ । पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बे्रन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौना लगायत घरायसी प्रयोजनका करिब सबै काठका फर्निचर सामग्री मेलामा ल्याइएको छ भने फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगायतका सामग्री पनि बिक्रीका लागि राखिएको छ ।

दुई सयभन्दा बढी व्यवसायीले हरेक वर्ष मेलामा फर्निचर ल्याउने गरेका छन् । मेलामा फर्निचर तुलनात्मक रुपमा सस्तोमा पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको व्यवासायीहरुले बताउंछन् । अन्य ठाउँमा सामान किनेको भन्दा जयनगर फर्निचर मेलामा २५ प्रतिशतभन्दा बढी सस्तो हुने गरेको पाइएको छ । आफ्नै काठ र आफैले फर्निचर बनाउने हुनाले तुलनात्मक रूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउँछन् । मेलाबाट देशका विभिन्न भागका साथै भारततर्फ पनि फर्निचर लैजाने गरिएको छ । मुख्य गरी विहेमा दाइजो दिनेहरूका लागि फर्निचर मेला पहिलो रोजाई हुने गरेको छ भने सस्तो रोज्नेहरूले पनि मेलाबाटै फर्निचर लैजाने गरेका छन् । फर्निचर मेलामा काठबाट बनाईएको दराज, ढोका, झयाल, पलंग,डेस्क ब्रेन्च, कुर्सी, टेबुल लगायतका सामग्रीका साथै फलामको पनि सबै सामग्री बिक्रीका लागि राखिएको हुँदा यो सबै फनिर्चरको लागि अन्यत्र जानु नपरेको धरहरीका अशोक साहले बताए । यो मेलाले गर्दा फर्निचरका सम्पूर्ण समानहरु एकै ठाउँमा उपलब्ध हुने गरेकोले मेलामा फर्निचरका सामग्री किन्दा खुशी लागेको शिवनगरका राजु मिश्रको भनाई छ । यो मेलामा बिक्री गर्नकोलागि विश्वकर्मा(लोहार) जातीले २/३ महिना अघिदेखि नै फर्निचरका सामग्रीहरु बनाउने कार्य शुरु गर्ने गरेका छन् ।

अहोरात्र सम्म खटेर मिहिनेतका साथै लोहार जातीले बनाएको फर्निचरका सामग्री अहिले मेलामा ल्याएर बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । हरेक वर्ष मेलाको विस्तार भइरहेकोले मेलालाई थप व्यवस्थित गर्ने प्रयास जारी रहेको समितिको भनाई छ । मेलाबाट नेपालको रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाण्डु, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको समितिका अध्यक्ष अरुण यादवले बताए । मेलामा यस वर्ष पाँच करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ । समितिका अध्यक्ष यादवका अनुसार गत वर्ष ४ करोडको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने देखिएकोले ५ करोडसम्मको कारोबार हुने पूर्व अनुमान गरिएको छ । २०६५ सालदेखि नै प्रत्येक वर्ष लाग्दै आइरहेको मेलाको प्रत्येक वर्ष विस्तार हुँदै गएकोले कारोवार पनि बढदै गएको समितिले जनाएको छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News