२०७८ फाल्गुन १, आईतवार ०८:२२

कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाहीको माग गर्दे सप्तरीको तिलाठी कोइलाडी गाउंपालिकामा रहेको प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरिएको छ ।

दोषीमाथि कारवाहीको माग गर्दै शनिबार बिहानैदेखि स्थानीयवासीहरुले विरोध प्रदर्शन गर्दै धर्नामा बसेका थिए । उनीहरुले प्रहरी प्रशबासन बिरुद्ध चर्को नाराबाजी गर्दै कोइलाडी बरसाइन प्रहरी चौकी आसपास टायर बालेर समेत प्रदर्शन गरेका छन् । धर्नाको अगुवाई गरिरहेका मध्येका जसपा मधेश प्रदेश समितिका सदस्य सुरजित सिंह गुडुका अनुसार अघिल्लो दिन शुक्रबार सो गाउँपालिका–४ का वडा सदस्य दिनेश सिंहको घरमा आयोजित भोजमा सहभागी हुन आएका केही युवाहरुको समूहले स्थानीय एक किशोरीलाई गाई वस्तु चराउन गएको बेला कुटपिट गरेका थिए । मोटरसाइकलमा रहेका ती युवाहरुले गाईलाई ठक्कर दिएपछि प्रतिवाद गर्दा आफू कुटिएको पीडित किशोरीको कथन छ । कुटपिटबाट उनको ओठ फुटेको छ । कुटपिटमा केही भारतीय युवा समेत संलग्न रहेको उनले बताइन् । सो घटनाबारे जानकारी पाएपछि गाउँबाट किशोरीका आफन्तसहित पुगेकाहरुमाथि समेत ती समूहले आक्रमण गरेको स्थानीयहरुले बताए । आक्रमणबाट सोही वडाका धमेन्द्र मण्डल, अमित मण्डल र रिंकु मण्डल समेत घाइते भएका छन् । टाउको फुटेका तीनै जनाको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न मध्येका ६ जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि तीन जनालाई शनिबार बिहान छाडिएको थियो । कारवाही नगरी उनीहरुलाई छाडेर प्रहरीले कुटपिट गर्नेहरुको मनोबल बढाएको आरोप समेत स्थानीयवासीहरुले लगाए । आरोपीहरुलाई अचानक छाडिएको भन्दै आक्रोशित बनेका पीडितहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले कुटपिटमा संलग्नलाई छाडेको भन्दै पुनः पक्राउ गर्न, कोइलाडी बरसाइन प्रहरी चौकीका जिम्मेवार प्रहरी अधिकारीलाई अन्यत्र सरुवा तथा सांघातिक आक्रमण गर्नेहरुमाथि ज्यान मार्ने उद्योग शीर्षक अन्तर्गत मुद्दा चलाउन माग गरेका छन् । डिएसपी माधवप्रसाद काफ्लेले उक्त घटना दुई पक्षबीच झडपका कारण भएको बताए । उनले कुटपिटमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए । उनले घटनाबारे प्रहरीमा जाहेरी नदिई सोझै आन्दोलन थाल्नु उपयुक्त नभएको जिकिर गर्दै घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानून बमोजिम कारवाही गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News