गरुडा । रौतहटको माधवनारायण नगरपालिकाले नगर भित्रका सयौं ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान जारी रहेको छ ।
नगर प्रमुख विरेन्द्र प्रसाद यादवले नगर भित्रका ७५ वर्षभन्दा माथि उमेरका प्रत्येक ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेका छन् । शुक्रबारदेखि सुरु भएको सो अभियान अन्तर्गत शनिबार नगरको वडा नं २ खेसरहीयाका ८० र वडा नं ३ सखुअवाका एक सय जना गरी जम्मा १ सय ८० जना ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरी सम्मान गरिएको हो । शनिबार आयोजित छुट्टा–छुट्टै कार्यक्रको आयोजना गरी वृद्ध वृद्धाहरुलाई सम्मान स्वरुप चिसो छल्न कम्बल वितरण गरिएको हो । तीन वटा वडामा अहिलेसम्म २ सय ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कम्बल वितरण गरिएको र नगरका बाँकी सबै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने आफनो योजना रहेको उनले जानकारी दिए ।
वृद्ध अवस्थामा कतिपय छोराले आमा बुबालाई राम्ररी हेरचाह एवं सम्मान नगर्ने, हेला गर्ने, खानपान देखि लिएर आदर सत्कारमा ध्यान नदिने गरेका कारण कुनै पनि आमा बुबालाई घर परिवारबाट अपहेलित भएको महसुस हुन नदिन आफूले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान नै सञ्चालन गरेको उनले बताए ।

