मधेस सरकारले आज सार्वजनिक विदा दिइएको छ । प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक बिदा घोषणा गरेको हो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा घोषणा गरेका हुन् । मन्त्री साहको निजी सचिवालयले एक विज्ञप्ति जारी गर्दै २७औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मधेस प्रदेश सरकारले पहिलोपटक आइतबार जनयुद्ध दिवस मनाउन लागेको हो । प्रदेश सरकारले विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएपनि जनयुद्ध दिवस मनाएको थिएन ।
दिवसको अवसरमा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने भएको छ । मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

