अपडेट 
२०७८ फाल्गुन २, सोमबार ०८:०४

मलंगवा । सस्तो दरमा भारतबाट आलु आयात हुँदा आलुको मूल्य घटेको छ । आलुको मूल्य घटेपछि सर्लाहीका किसानहरु चिन्तित बनेका छन् ।

आलु बिक्री गर्ने समयमा धमाधम आलुको मूल्य घटेपछि समस्यामा परेको बरहथवा नगरपालिका–२ का किसान हरिनारायण यादवको गुनासो छ । माघको पहिलो साता खेतबाटै आलु ३० रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुँदै आएकोमा अहिले आएर आलुको मूल्य घटेर प्रति किलो १८ रुपियाँमा झरेको छ । आलुको मूल्य घटेपछि उत्पादन लागत समेत नउठ्ने अवस्था रहेको किसानहरुको गुनासो छ । बीउ, मलखाद तथा कामदारको मूल्य बढ्दो छ तर उत्पादित आलुको मूल्य भने घटेकोले किसानहरुलाई चिन्तित बनाएको छ । प्रति बोरा ९ सय मूल्य पर्ने युरिया मल अहिले १३ सय रुपैयाँ पर्ने गरेको र त्यो पनि नेपाली मल नपाउंदा भारतीय मल प्रयोग गर्न किसानहरु बाध्य रहेको गुनासो समेत पोख्छन् । आलुको उत्पादन समेत यस वर्ष घटेको छ र त्यसमा पनि मूल्य नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । भारतीय आलु नेपाली बजारमा सहजै भित्रिन थालेपछि आलुको मूल्य एक्कासी घटेको बरहथवाकै अर्का किसान राजनारायण महतोले बताए । खुला सीमा हुँदै नेपाली बजारमा भित्रिएको भारतीय आलु कम गुणस्तरको भए पनि नेपाली आलुभन्दा सस्तो मूल्यमा बजारमा पाउने गरेकाले नेपाली आलुभन्दा भारतीय आलु नै उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन् । हजरियाका किसान श्याम मैनाली भन्छन् ,‘भारतीय आलु भित्रिएका कारण यस वर्ष पनि आलुको मूल्य एक्कासी घट्यो, यहि अवस्था भए लागत मूल्य उठाउन मुश्किल पर्छ, नेपाली आलु भनेको बेलामा बिक्री पनि हुँदैन, राख्नलाई नजिकै शीत भण्डार पनि छैन, यस वर्ष विगतको वर्षभन्दा उत्पादन पनि निकै कम छ, मूल्य पनि कम नै छ । पहिले आलु खेतीबाट राम्रै फाइदा हुन्थ्यो, अहिले भारतीय आलुले बजार खाइदियो ।’ आलुको बजार मूल्य राम्रो हुँदा सबै खर्च कटाएर प्रतिकठ्ठा १० हजार रुपैयाँसम्म फाइदा हुने गरेको किसानहरू बताउंछन् ।

आलु खेती गर्ने धेरै किसानले आलुसँगै मकै खेती पनि गर्ने गरेका छन् । यसरी एकै पटक दुई बाली एउटै जग्गामा लगाउँदा एक बालीबाट लागत मूल्य उठ्ने र अर्को बालीबाट फाईदा हुने स्थानीयवासी मदन खड्काको कथन छ । आफूले उत्पादन गरेको फसलको बजार मूल्य राम्रो नपाएपछि धेरै किसानको खेती प्रतिको आकर्षण घट्दै गएको खड्काले बताए । आलु खेती सर्लाहीको बरहथवा नगरपालिकाको हजरिया, मुर्तिया, सुन्दरपुर, वाग्मती नगरपालिकाको राजघाट, शंकरपुर र हरिपुर नगरपालिकाको हजार भन्दा बढी बिघा क्षेत्रफलमा उत्पादन हुने गरेको छ । कमलो दोरस् खालको माटो भएको जग्गामा आलु प्रतिकट्ठा ८–९ क्विन्टलसम्म उत्पादन हुने गरेको किसानहरू बताउँछन् । तर यस वर्ष आलु खेती गर्ने समयमा सहजै रासायनिक मल उपलब्ध नहुँदा विगतको वर्षको तुलनामा उत्पादन घटेको मुर्तियाका किसान विष्णु खड्काले बताए । आलु रोप्ने बेलामा सहजै मल नपाएर र एक बोरा मल किन्न हेटौँडादेखि भारतको सोनवर्षासम्म पुग्नु परेको खड्काले दुखेसो पोखे । यस वर्ष जिल्लाभर झन्डै १५ सय हेक्टर क्षेत्रफल जग्गामा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । आलुको बजार मूल्य राम्रो नभएपछि किसानले आलु खेती छोडेर अन्य तरकारी खेती गर्न थालेका छन् । यस क्षेत्रमा उत्पादन भएका आलु स्थानीय व्यापारीले खरिद गरेर काठमाण्डु,पोखरा लगायतका व्यापारिक केन्द्रमा पठाउने गरेका छन् ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News