जनकपुरधाम । मधेश प्रदेश अन्तरगत सप्तरी जिल्लाका सूचनाको हकका अभियान्ता एवम् पत्रकार कैलाश माझीलाई मधेसी भाईरस कुल्लर समूहको नामबाट एक विज्ञप्ती निकालेर भौतिक कारवाही गर्ने धम्की दिएको घटना प्रति सूचनाको हककालागि राष्ट्रिय सञ्जालको ध्यानाकर्षण भएको छ ।
अज्ञात समूहले अभियान्ता माझीलाई मधेश प्रदेशका विभिन्न स्थानीय तहहरुमा सूचना मागेकै कारण गोली हानी ज्यान मार्ने धम्की दिएको प्रति सञ्जालले आपत्ति जनाउंदै दोषीमाथि यथाशीघ्र कारवाहीको माग गरेको छ। उक्त समुहले मधेस प्रदेशका स्थानीय तहहरुका जनप्रतिनिधि र कर्मचारीहरुलाई सूचना मागेर दुख दिने काम गरेको भन्दै घरमै आएर गोली हान्ने र घरमा आगो लगाउने समेत धम्की दिएको घटनाले सूचना अभियन्ताहरुलाई मर्माहत र त्रसित बनाएको सञ्जालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आम नागरिक अभिव्यक्ती, स्वतन्त्रता र सूचनाको हकलाई कुण्ठित गर्ने अभिप्रायले यस्तो हर्कत गरिनु आपत्तिजनक रहेको सञ्जालको ठहर छ । अभियान्ता माझीलाई ज्यानमार्ने धम्कि दिने उक्त समुहको खोजी गरी तत्काल कारवाही गर्न र अभियान्ता माझीको जीउ ज्यानको सुरक्षाको ग्यारेन्टी गर्न स्थानीय प्रशासनसंग सञ्जालले माग गरेको छ । विज्ञप्तिमा यस प्रकारको घटना नदोहोरिन प्रशासनले दोषीलाई कानूनी दायरामा ल्याइ कारवाही गर्नु पर्ने उल्लेख गरिएको छ ।

