कलैया । कलैया उपमहानगरपालिका–२५ ईनरवारीमा कार्तिक २४ गते दुई समुदायका व्यक्तिहरु बीच भएको झगडामा मृत्यू भएका राधेश्याम पटेलको क्षतिपूर्ति र उपचारखर्च दिने सहितका सहमति यथाशीघ्र कार्यान्वयन गर्नु पर्ने माग गरिएको छ ।
केही दिन अगाडि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले गरेको सम्झौता कार्यान्वयन गर्न जोडदार गरेका छन । मंगलबार कलैयामा पत्रकार सम्मेलन गरी सो माग गरिएको हो । बिल भरपाइ अनुसारको सम्पूर्ण खर्च र कानून बामेजिम मृतकका परिवारले पाउनुपर्ने १० लाख क्षतिपूर्ति , धार्मिक शहीद घोषणा, परिवारका १ जना सदस्यलाई जिल्ला भित्र योग्यता अनुसारको रोजगारी दिलाउन सहमति भएको महिनौ दिन बितिसक्दा पनि सहमति कार्यान्वयन नहँुदा पीडितलाई झन पीडा थपिएको कुर्मी सेवा समितिका जिल्ला अध्यक्ष रमेश पटेलले बताए । दुई पक्षबीच भएको झडपको ५७ दिनपछि वीरगञ्जका एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा राधेश्यामको मृत्यु भएको थियो । पुस २१ गते उनको मृत्यु भएको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय नाजीर हुसैन ठकुराईलाई पक्राउ गरी अदालतमा प्रक्रिया पु¥याइ पुर्पक्षकालागि वीरगञ्ज करागारमा पठाइएको छ । घटनामा संलग्न फरार रहेका सफिमहम्द ठकुराई, लालबाबु ठकुराई, असमुल्लाह ठकुराई, गनिमिँया ठकुराई, जाफर मियाँ ठकुराई, नजमुल्लाह मियाँ ठकुराई र अफजल मिया ठकुराई अझै फरार रहेको बताइएको छ ।
सहमति अबिलम्ब कार्यान्वयन नगरे जिल्ला प्रशासन घेराउ, धर्ना, जुलुश प्रर्दशन समेत गर्न बाध्य हुने सो पत्रकार सम्मेलनमा भनिएको थियो । पत्रकार सम्मेलनमा मृतकका हजुर बुबा शिवनारायण पटेल, बुबा राजकुमार पटेल, गोपाल दास , हरेन्द्र पटेल, तिलक पटेल, लालबाबु पटेल, जंगीलाल दास, सन्तोष पटेल लगायतको सहभागिता रहेको थियो । यसै बिच हिन्दु परिषद नेपाल तथा हिन्दु समाज बाराका अध्यक्ष गोपाल दासको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र दिइ सहमति कार्यान्वयनको माग गरिएको छ ।

