जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
सरकारले बैशाख ३० गते तोकेको समयमा सबै नेता कार्यकर्ता नेपाली कांग्रेसलाई बढी भन्दा बढी सीटमा जिताउन सक्रिय हुन उनले निर्देशन दिए । नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नं. ३ क्षेत्रीय समितिले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता भेला एवम् अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता कार्यकर्तालाई सो निर्देशन दिएका छन् । नेपाली कांग्रेस कमजोर भएकै कारण आज जनतामा निराशा छाएको उनले बताएका थिए । मधेश प्रदेश नेपाली कांग्रेसको गढ रहेको र विगतमा भएका कमीकमजोरीहरुलाई सच्याउँदै जनताको मनोभाव जित्न उनले निर्देशन दिएका थिए । उनले स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उम्मेदवारहरु ल्याउनका लागि निर्देशन समेत दिएका थिए । उनले एमसीसी देशको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय महत्वपूर्ण सहयोग भएकाले सबै दल मिलेर संसदबाट पारित गर्नुपर्ने बताए । उनले एमसीसी पास भएपछि नेपालले पाउने अनुदान रकम ठूलो रकम भएकाले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्ने बताए । एमसीसी पास गर्दा मुलुकको कुनै अहित नहुने उनले बताए ।
कांग्रेस नेता निधिले न्याय क्षेत्रमा भएका विकृति एवं विसंगतिको अन्त्य गर्न प्रधानन्यायाधीश माथि महाभियोग लगाउनु परेको उल्लेख । त्यसका लागि प्रमुख प्रतिपक्षी दल एमालेको साथ र सहयोग आवश्यक पर्ने उनले जिकिर गरे ।

