मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्दीले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको अधिकार असंवैधानिक र गैरकानूनी रहेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीहरुलाई नागरिकता र राहदानी बनाउने तथा सीमा निरीक्षण गर्ने तीन वटा कामको जिम्मेवारी मात्रै दिनु पर्ने भए पनि संघीय सरकारले उनीहरुलाई संविधान र कानून भन्दा पनि बढी जिम्मेवारी र अधिकार दिएको जिकिर उनले गरे । रौतहटको वृन्दावन नगरपालिका–१ वृन्दावनमा बुधबार श्री कृष्ण प्रणामी धर्म महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले संविधान अनुसार सुरक्षा निकाय प्रदेश सरकारको मातहत रहनुपर्नेमा केन्द्र सरकारले आफ्नै मातहतमा राखेर प्रदेश सरकारको अधिकार कटौती गर्ने काम गरेको टिप्पणी गरे । उनले भने,‘ सिडियोहरु प्रदेश सरकारको मातहतमा आएपछि केन्द्र सरकारको हूकुमी शासन चल्दैन त्यसैले मधेश र मधेशी जनतामाथि दमन, शोषण तथा शासन गर्न केन्द्र सरकारले प्रहरी प्रशासनलाई आफ्नै कब्जा राखेको छ ।’ प्रहरी प्रशासनलाई आफ्ना हातमा लिएर मधेशी जनतामाथि दमन शोषण गर्ने र गराउने संघीय सरकारको सो हुकुमी शासन अन्त्य गर्न मधेश सरकारले अब चाँडै आफ्नै प्रहरी ऐन ल्याएर प्रहरी भर्ना गर्ने तयारी गरेको उनले जानकारी दिए । आफ्ना प्रदेशवासीलाई शिक्षित बनाउन मधेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउंदै शिक्षा बिना देशको विकास असम्भव रहेको उल्लेख गरे । मधेश सरकारले काठमाण्डु सहित देश विदेशमा हुने उच्च स्तरको अध्ययन अध्यापन आफ्नै प्रदेशमा गर्न सक्ने उद्देश्यका साथ सप्तरीको राजविराजमा कृषि विश्व विद्यालय स्थापना गरेको र विरगञ्जमा विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापना गर्ने तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले मधेश सरकारले हरेक क्षेत्रमा विकासको आँधी ल्याएको दाबी गरेका छन् । प्रदेश सरकारले प्रदेशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको बताउँदै कृषि राज्य मन्त्री यादवले आगामी दिनमा विकास एवं समृद्धिको नेतृत्व जनता समाजवादी पार्टीले मात्र गर्न सक्ने जिकिर गरे । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले देशलाई विकसित र समृद्ध बनाउन आसन्न स्थानीय तहको निर्वाचनमा जसपा जित्नुको विकल्प नरहेको बताए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नागरिकको मन जित्ने गरी चुनावमा केन्द्रित हुन पार्टीका नेता कार्यकतालाई मन्त्री यादवले निर्देशन समेत दिए । विश्वको उत्कृष्ट संविधान भन्नेहरु नै पटक–पटक संसद विघटन गरी खारेज गर्ने प्रयास गरेको भए पनि त्यो प्रयासलाई आफूहरुले असफल गरिदिएको समेत उनले दाबी गरे । संविधान समाप्त पारे पछि संघीयता र गणतन्त्र पनि खारेज हुन्छ भन्ने षडयन्त्र तहत नै एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेको उनले बताए । उनले नेपालमा संसदीय व्यवस्था रहे पनि संसदको सर्वोच्चता नभएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्री चाहेको बेला फ्रेस म्याण्डेड ल्याउन सक्छ । तर यो संविधानमा त्यो व्यवस्था छैन । यो प्रणाली नै असफल छ । नेपाल जस्तो अल्पविकसित मुलुकमा राजनीतिक स्थिरता सम्भव छैन् । यदि राजनीतिक स्थिरता सम्भव छैन भने आर्थिक विकास हुँदैन ।’ केपी ओलीको दुई तिहाइको सरकार ढलेको विषयलाई लक्षित गर्दै राज्य मन्त्री यादवले भने ‘हेर्नुभयो नी, दुई तिहाइको सरकार थियो । आज फुटपाथमा घुमिरहेका छन् । मधेसीमाथि गोली बर्साएर संविधान बनाएर जुन खाल्डो खनियो, अहिले त्यसमा आफै खसे ।’
कार्यक्रममा मधेश प्रदेशका विकास समितिका सभापति एवं रौतहटका प्रदेश सांसद शेष अब्बुल कलाम अजाद उर्फ फुलबाबु, प्रदेश सांसद धनलाल ठोकर, जसपाका जिल्ला इन्चार्ज वृज कुमार यादव, वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव, जसपाका मधेश प्रदेश सदस्य राजकुमार दास, जसपा नेता कौशरखान मिथिला लगायतका बक्ताहरुले आ–आफ्नो मनतव्य राखेका थिए ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=1s



