२०७८ फाल्गुन ५, बिहीबार ०८:३५

राजविराज । सप्तरी जिल्ला सदरमुकाम राजविराजमा रहेको अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरुको चरम अभावले गर्दा सेवाग्राहीको कामकाज प्रभावित बनेको छ ।

कार्यालयहरुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाह र अतिआवश्यक कामकाजहरु प्रभावित बनेको हो । आवश्यकता अनुसारको कर्मचारी नह्ुँदा दैनिक कार्यसम्पादनमा समस्या भएको छ भने सेवा लिन सयौं सर्वसाधारण कार्यालयमा घण्टौ सम्मं कुर्नु पर्ने र कतिपय सेवाग्राहीहरु काम नहुँदा रित्तै फर्किन समेत बाध्य हुने गरेको अवस्था रहेको छ । ३३ जना कर्मचारीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीमा न्यून संख्यामा उपलब्ध कर्मचारीका भरमा काम चलाउनु पर्ने बाध्यता देखिएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार ३ जना प्रशासकीय अधिकृतको दरबन्दी रहेकोमा हाल १ जना मात्र कार्यालयमा उपलब्ध रहेका छन् । यसैगरी नायब सुब्बा २ जना र खरिदार २ जनाको पद रिक्त नै रहेको उनले बताए । कार्यालयको कामकाज निकै प्रभावित हुन थाले पछि राजविराज कारागार कार्यालयबाट १ जना अधिकृतलाई अतिरिक्त काममा लगाई काम चलाउनु परेको प्रजिअ गौतमले बताए । “कर्मचारी अभावबारे गृहमन्त्रालयमा जानकारी गराई सकेको छुँ, उनले भने“ अहिले सम्म कर्मचारी पठाउने काम भने भएको छैन ।” जिल्ला प्रशासन कार्यालयमा मात्र नभइ सप्तरीका अधिकांश सरकारी कार्यालयहरुमा यस्तै समस्या देखिएको छ । प्रजिअ गौतमले अन्य कार्यालयहरुमा पनि देखिएको कर्मचारीको अभावबारे सम्बन्धित विभाग र मन्त्रालयमा जानकारी गराइएको र त्यहाँबाट चाँडै पदपूर्ति गरिने आश्वासन पाएको जानकारी दिए । भूमिसुधार तथा मालपोत कार्यालयमा ३ जना अधिकृतको दरबन्दी रहेकोमा एक जनाको भरमा कार्यालय सञ्चालनमा रहेको छ । यस्तै सो कार्यालयमा २ नासु र र्२ प्रमुख मालपोत अधिकृतको पद पनि रिक्त नै रहेकोले उपलब्ध जनशक्ति बाटै जेनतेन काम चलाउनु परेको गुनासो कार्यालय प्रमुख दीपेन्द्र झाले पोखे । त्यस्तै सरकारी स्वामित्वकै दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमको पनि आधा दर्जन पद लामो समयदेखि रिक्त नै रहेको देखिएको छ ।

टेलिकम राजविराज शाखाका बरिष्ठ इन्जिनियर एवं कार्यालय प्रमुख मो.हसन अंसारीका अनुसार १ ईन्जिनियर १ प्राविधिक र १ जना व्यापार अधिकृतको पद पनि रिक्त रहेको लामो समय भइसकेको छ । तीन जना सहायक लेखा अधिकृतको दरबन्दी रहेकोमा २ पद रिक्त नै छ । प्रमुख अन्सारीका अनुसार टेलीकमको मातहतमा रहेको हनुमाननगर र कल्याणपुर उपशाखामा प्राविधिक सहित ६÷६ जना कर्मचारीको दरबन्दी रहे पनि दुबै शाखामा ४÷४ पद रिक्त भइ २÷२ जना कर्मचारीबाट मात्र काम चलाउनु परेको छ । जिल्लाको सरकारी गजेन्द्र नारायण सिंह अस्पतालमा पनि विगत २ वर्ष देखि मेडिकल सुपरिटेण्डेन्टको अभाव छ । सो को पद पूर्ति हुन नसक्दा हाल सम्म निमित्त मेडिकल सुपरिटेण्डेण्टकै भरमा अस्पतालको प्रशासन चलिरहेको छ । जिल्लाका अधिकांश स्थानीय तह पनि कर्मचारीको अभाव भोग्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुदा दैनिक कार्य सम्पादनमा समस्याका साथै सेवाग्राहीहरुलाई अनावश्यक सास्ती भोग्नु परिरहेको नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले गुनासो गरे । यसरी कर्मचारी अभावका कारण सेवा र काम प्रभावित भएपछि कार्यालयमा घण्टौं कुर्नू पर्ने र आएर पनि काम नहुँदा निराश भइ फर्किनु पर्ने अवस्थाको अन्त्य गर्न अविलम्ब आवश्यकता अनुसारको कर्मचारी थप्न सेवाग्राहीहरुले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News