२०७८ फाल्गुन ८, आईतवार ०७:१४

ध्रुबकुमार झा

जनकपुरधाम । वृद्धाश्रमका वृद्धहरु औषधि अभावमा मृत्युको संघारमा पुगेकी छिन् । जनकपुरधाम उप–महानगरपालिका –९ मा रहेको जानकी वृद्धाश्रमको सम्बन्धित निकायले उपेक्षा गर्दा सो अवस्था आइपरेको छ ।

विगत दुई वर्षदेखि आश्रममा प्रदेश सरकारले बजेट नदिँदा वृद्धाहरुको प्रतिपालनमा समेत समस्या देखिएको आश्रमको सञ्चालिका सीता अधिकारी बताउँछिन् । बजेट अभावकै कारण वृद्धाहरुको सेवाको लागि खटिएका ६ जना कर्मचारीहरुले दुई वर्षदेखि तलबको नाउँमा एक सुको पाउन सकेका छैनन् भने विरामी भइ थला परेका वृद्धाहरुलाई चिकित्सकको सल्लाह अनुसार दुध खान त परै जाओस जेन तेन दाताहरुले दिएको दानकै बलमा दुई छाक टर्ने गरिएको उनले स्पष्ट गरिन् । बिहान दाल भात तरकारी र बेलुकी रोटी तरकारीमै सीमित रहेको वृद्धाहरुको खानाका लागि दाताहरुलाई पर्खिनु पर्ने बाध्यता रहेको छ । आर्थिक वर्ष २०७६÷०७७को दशैं मनाउन भनेर मधेश प्रदेश सरकारको महिला तथा बालबालिका मन्त्रालयबाट दशैं बितेको दुई महिनापछि मात्रै २५ हजार रुपियाँ बाहेक विगत दुई वर्षको अवधिमा आश्रममा कतै कुनै निकायबाट रकम दिइएको छैन। त्यस्तै एक वर्ष पूर्व आश्रमको विद्युत महसुल चार लाखभन्दा बढी भएपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको सक्रियतामा चार लाख रुपियाँ महसुल बुझाइएको सञ्चालिका अधिकारी बताउँछिन । केही दिन पहिला मात्रै एक लाख भन्दा बढी विद्युत महसुल भएको भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरधामले वृद्धाश्रमको विद्युत लाइन पनि काटेको थियो । सो बेला दिउँसो नै लाठीको सहाराले हिंड्नु पर्ने वृद्धाहरु अन्ध्यारोमा बस्न बाध्य बनेका थिए । केही समाजसेवीहरुको पहलमा प्राधिकरणले विद्युतको लाईन जडान गरिए पनि महसुल तिर्न भने अझै बाँकी नै रहेको छ र कुनै पनि बेला लाइन काटिन सक्ने सम्भावनाप्रति अधिकारी चिन्ता व्यक्त गरिन ।

केही बोल्न नसक्ने अन्दाजि ८० वर्षीय वृद्धा दमको रोगी भइ असक्त बनेकी छिन् उनलाई एक पाउ दुध समेत खुवाउने पैसा छैन, कर्मचारी(सेविका) संगीता ठाकुरले दुःख व्यक्त गर्दै भनिन् । दाताहरुको भरमै दैनिक दुई लिटर दुध लिने गरेको र सो आमाहरुलाई चिया खुवाउंदै गरिएको बताइन्छ । हाल आश्रममा १६ जना वृद्धाहरुको सेवा भइरहेको छ ,तर उनीहरुको लागि खाना नै प्रशस्त छैन भने दुध कहाँबाट दिनु भन्ने दुखेसो कर्मचारीहरुको छ । मृत्युको संघारमा पुगिसकेको नाम समेत भन्न नसक्ने (लाटो )वृद्धालाई औषधि खुवाउन समेत एक सुको छैन । ’ अधिकारीले गुनासो पोखिन् । वृद्धाहरु मध्ये दुई जना दमको रोगी र तीन जना रक्तचापको विरामी छिन्, तिनीहरुलाई चिकित्सकले नियमित रुपमा औषधि सेवन गर्नु पर्ने सल्लाह दिएको छ तर उनीहरुले औषधि खाने पैसा नै छैन ,उनले बताइन् । भौतिक पूर्वाधार हेर्ने हो भने दुई तल्ला गरी १४ वटा कोठा रहे पनि भुंइतल्लाको आठ वटा कोठा मात्रै प्रयोगमा रहेको र एक तल्लाका कोठाहरु बिजुली बत्तीसहितको विभिन्न कारणले व्यवस्थित हुन सकेको छैन । माथिल्लो तल्लामा पुरुष वृद्धहरुको लागि व्यवस्थापनको योजना त्यत्तिकै अलपत्र परेको अवस्था रहेको छ । केही पहिला नै औषधि र दुधको अभावको कारण एक जना वृद्धाले ज्यान गुमाउनु परेको दुखेसो पोख्दै सेविका ठाकुरले भनिन्,‘केही वृद्धाले सुतको बत्तीसहितका सामान्य घरेलु उत्पादन गरी दुई चार रुपियाँ जोहो गरेर औषधि किन्ने गरेका छन् भने अशक्त भइसकेकाहरुको लागि एक पाउ दुधको जोहो गर्न पनि सम्भव छैन ।ं २०औं वर्ष पुर्व गठन भएको जानकी वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष नेपाली कांग्रेसका नेतृ लीला कोइराला लगायतका सम्पूर्ण पदाधिकारीहरु निष्क्रिय भइसकेको अवस्थामा पनि समिति नफेरिँदा आश्रमको हाल बेहाल भएको अधिकारीले बताउंछिन् ।

कमिटीका कोषाध्यक्ष ललित बजाज बाहेकका सबै कर्मचारीहरु निष्क्रिय रहेको बताइन्छ । विगत चार वर्ष अघिसम्म संघीय सरकारबाट प्रति वर्ष ६ लाखको दरले बजेट आउंदा र दाताहरुको सहारामा ठिक ठाक रुपमा आश्रम सञ्चालनमा रहेको थियो तर मधेश प्रदेश सरकारको मातहतमा आएपछि विगत दुई वर्षदेखि आश्रममा कुनै बजेट नै नआएकोले आश्रमको हालत दिनानुदिन दयनीय बन्दै गएको कर्मचारीहरुको कथन छ । आश्रमको हालत खराब हुनुमा सब भन्दा ठूलो कमजोरी नै कमिटी नफेरिनु र निष्क्रियहरुको हातमा कमिटी रहनु रहेको सञ्चालिका अधिकारी बताउंछिन । ‘वृद्धाहरुको चिया ,खाजा र खाना तथा सेवा गर्ने कर्मचारीहरुको तलबको लागि कम्तीमा वार्षिक १० लाख रकमको आवश्यकता रहेको बताइन्छ । विगत दुई वर्ष यतादेखि कर्मचारीहरुले पाउनु पर्ने करिब तीन लाख तलब त बाँकी नै छ अझै खाद्यान्नको अभावमा कर्मचारीहरुले घरबाटै दुई छाक खाएर सेवा गर्ने गरेको अवस्था रहेको छ । कमिटीको अध्यक्षमा लीला कोइराला , उपाध्यक्षमा किशोरी चौधरी ,सचिवमा रामनृत्य शर्मा ,कोषाध्यक्ष ललित बजाज ,सदस्यहरुमा कृष्णचन्द्र झा,अनुराग गिरी,अनिता सर्राफ ,लीलाकान्त दास,विजय कुमार साह सुडी रहेका छन् । सो बाहेक जिल्ला प्रशासन कार्यालयका अधिकृत एक जना ,महिला विकास कार्यालय धनुषाका पदाधिकारी एक जनालाई सदस्य हुने व्यवस्था रहेको छ । यी मध्ये अधिकांश पदाधिकारीहरु जनकपुरधाम बाहिर नै रहेका छन् ।

Comment


Related News

Latest News

Trending News