पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औंल्याएका छन् ।
शनिबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा उनले भने,‘वर्तमान निर्वाचन प्रणालीबाट ऐतिहासिक उपलब्धि प्राप्त भएपनि यसमा हुने खर्च कम गर्नकालागि निर्वाचन प्रणाली अन्तर्गत गरिने प्रक्रियामा सुधार आवश्यक छ ।’ वर्तमान निर्वाचन प्रणालीले मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, महिला लगायत सबै वर्गको प्रतिनिधित्व निश्चित गरेको बताउंदै उनले निर्वाचन प्रणाली अन्तर्गत गरिने प्रक्रिया खर्चिलो भएका कारण सोमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गरे । मतदाता नामावली तयारीकालागि नागरिकता आवश्यक रहने गरेको भए पनि त्यसकै आधारमा मतदान दिने व्यवस्था नराखी मतदाता परिचय पत्र बनाउनु पर्ने प्रावधानले निर्वाचनमा खर्च बढेको उनको कथन छ । ‘दोहोरो किसिमको कानूनी व्यवस्थामा सुधार गर्न सके खर्चमा कमी ल्याउन नसकिने होइन’, डा. यादवले भने ।
निर्वाचन आयोगलाई नै अद्यावधिक निर्वाचनको मिति घोषणा गर्ने अधिकार दिएर, मतदान स्थलमै मतगणनाको व्यवस्था गरेर, स्थानीय तहको निर्वाचन प्रदेश सरकार मातहतमा तथा प्रदेश र केन्द्रको निर्वाचन पूर्ण सामानुपातिकको आधारमा व्यवस्थापन गरे खर्च घटाउन मद्दत पुग्ने उनको ठहर छ । डा. यादवले पूर्ण सामानुपातिक निर्वाचन हुँदा व्यक्ति नभइ राजनितिक दल उम्मेदवार हुने हुँदा निर्वाचनमा हुन खर्चमा पनि निकै कमी आउने दाबी गरे ।

