नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्ला मध्ये मधेश प्रदेशको ८ जिल्लामा संस्थापन पक्ष नै भारी देखिएको छ ।
संस्थापन पक्षले प्रदेशको प्रायःहरेक जिल्लामा सभापतिका उम्मेदवार सार्वजनिक गरिसकेका छन् ।संस्थापन इतर पक्ष उम्मेदवारमै सहमति जुटाउने कसरतमा लागेका छन् । केही जिल्लाहरुमा त संस्थापन पक्षकै उम्मेदवारहरु प्रतिस्पर्धा गर्ने संभावना पनि छ । मधेशका प्रभावशाली नेता मानिने विमलेन्द्र निधि भने धनुषामा नै सीमित भएका छन् । केही दिनदेखि उनी सभापतिका उम्मेदवार योगेन्द्र पञ्जियारको प्रचारमा सक्रिय देखिएका छन् । संस्थापन पक्षबाट सप्तरी जिल्लामा सभापतिका लागि शत्रुधन यादवको नाम घोषणा गरिएको छ ।सप्तरीमा संस्थापन पक्षका नेता केन्द्रीय सदस्य दिनेश यादवले सभापतिका लागि शत्रुधन यादवको नाम घोषणा गरे । यादवलाई सभापतिका लागि ललन गुप्ताले प्रस्ताव र निर्मला यादवले समर्थन गरेकी थिइन् । यादव हाल जिल्ला सचिव रहेका छन् । संस्थापन पक्षका यादव नै सभापतिमा जित्ने संभावना बलियो रहेको बताइन्छ । अर्को पक्षले उम्मेदवार घोषणा गर्न सकेको छैन् । अल्मलमा रहेको संस्थापन इतर पक्षले सभापतिका लागि उम्मेदवारको घोषणामा सहमति जुटाउन सकसमा रहेको छ ।
फागुन १५ गते हुने जिल्ला अधिवेशनका लागि मधेश प्रदेशका ८ वटै जिल्लामा सभापतिका लागि संस्थापन पक्षले धमाधम उम्मेदवार घोषणा गर्न थालेको छ । सिरहामा सभापतिका लागि दुबै जना संस्थापन पक्षका नै रहेको बताइन्छ । रामचन्द्र यादव र राम सुन्दर चौधरी बीच सभापतिमा प्रतिस्पर्धा हुने भएपछि संस्थापन इतरपक्ष विभाजित भएका छन् । धनुषामा कांग्रेसको तीनवटा समूहले सभापतिका लागि छुट्टाछुट्टै उम्मेदवार घोषणा गरेका छन् ।संस्थापन पक्षले धनुषा कांग्रेसका उपसभापति रहेका सन्तोष यादवलाई, विमलेन्द्र निधि पक्षले क्षीरेश्वर नगरपालिकाका मेयर योगेन्द्र पञ्जियारलाई र डा.शेखर कोइराला समूहले दिनेश प्रसैलालाई उम्मेदवार घोषणा गरेका छन् । धनुषामा पहिलो चरणमा नतिजा आउने संभावना कमजोर देखिएको छ । पार्टी विधान अनुसार सभापतिले जितका लागि ५१ प्रतिशत मत ल्याउनु पर्ने भएकाले त्रिपक्षीय भीडन्तमा त्यो संभावना क्षीण भएको छ ।

