२०७८ फाल्गुन ११, बुधबार ०५:५०

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रभावशाली नेताहरुले मंगलबार पार्टी परित्याग गरेका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरका अत्यन्त विश्वासपात्र मानिने नेताहरु भारी संख्यामा पार्टीबाट अलग्गिएका छन् । लोसपाका कार्यकारिणी समिति सदस्य वृषेशचन्द्र लाल, पूर्व सभासद डा.विजय कुमार सिंह लगायत दुई सय भन्दा बढी संख्यामा नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनीहरुले पार्टी परित्याग गरेको घोषणासंगै तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)मा प्रवेश गरेको घोषणा पनि गरे । जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा मंगलबार आयोजित पार्टी परित्याग र प्रवेश कार्यक्रममा लाल र सिंह सहित धनुषा महोत्तरीका गरी दुई सय भन्दा बढी नेता, कार्यकर्ताहरुले सहभागिता जनाएका थिए । तमलोपाको संस्थापक समेत रहेका लाल र डा.सिंहले विभिन्न जिम्मेवारीहरुमा रहेर काम गर्दै लोसपासम्म पुगेका थिए । तर लोसपाका अध्यक्ष ठाकुरले उनीहरुलाई जिम्मेवारी र प्रभावलाई कम गर्न थालेका थिए । ठाकुरले सम्धी÷सम्धिनी उमाकान्त झा र इन्दिरा झालाई उच्च प्राथमिकतामा राखेका कारण लाल र सिंहको अवसर नै खोसिएको थियो । डा.सिंहलाई पदमुक्त गरी ठाकुरले सम्धी उमाकान्त झालाई पदासीन गराएका थिए ।

अध्यक्ष ठाकुरले निकटहरुलाई पाखा लगाउन थालेसँगै उनलाई धेरैले छाडेका छन् । ठाकुरले एकलौटी रुपमा जिल्लाहरु र मधेश प्रदेशमा अध्यक्ष/सचिव चयन गरिएको विरोधमा काठमाण्डु स्थित केन्द्रीय कार्यालयमा धर्ना दिएकाहरुले पनि पार्टी परित्याग गर्ने अनुमान गरिएको थियो । तर त्यसमा अधिकांश राजेन्द्र महतो समर्थक रहेकाले उनीहरु मध्ये अधिकांश पार्टीमै रोकिएका छन् । पार्टी परित्याग कार्यक्रममा महतो पक्षधर सीमित व्यक्तिको मात्र सहभागिता थियो । दल त्याग्नेहरुमा धनुषा र महोत्तरीका अधिकांश ठाकुर निकटका नेता, कार्यकर्ताहरु रहेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिने क्रममा भने महतो पक्षधर प्रदेश सभासद र सांसदहरुले उनलाई छाडेका थिए । तराई र मधेशको नाम नै पार्टीबाट हटाएर सत्ता र सरकार केन्द्रित भएकाले मधेश पहिचान सहितको पार्टीमा आफूहरु लागेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पार्टी परित्याग र प्रवेशको वृहत्त कार्यक्रम भनिएको समारोहमा पार्टी प्रवेश गराउने तमलोपाका अध्यक्ष लगायत कुनै पदाधिकारी देखिएनन् । नेताहरुले स्वयं पार्टी परित्यागको घोषणा गर्दै तमलोपामा समावेश भएको लिखित रुपमा प्रतिवद्धता जनाएका थिए । नेतृत्व पंक्तिले जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेण्डालाई थाम्ने, गन्तव्यको दिशामा बोकेर अगाडि बढाउने सामथ्र्य देखाउन नसकेकाले पार्टी परित्याग गरेर तमलोपामा समावेश भएको नेता लालले बताए ।

मधेशका जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेश एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दल आवश्यक भएकाले नयाँ राजनीतिमा लागेको उनको भनाइ छ । लालसहितका नेता प्रवेश गरेको पार्टी तमलोपा सुरुमा महन्थ ठाकुरकै नेतृत्वमा गठन भएको थियो । लोसपामै रहेका रविशंकर लाल कर्णले तमलोपा दर्ता गराएका थिए । उनी लालका नाति हुन् । तमलोपाका अध्यक्षमा अब वृषेशचन्द्र लाल र वरिष्ठ नेतामा डा.विजयकुमार सिंह रहने छन् । पार्टीका प्रभावशाली नेताहरु बाहिरिएपछि लोसपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष ठाकुरले एकलौटी गर्न थालेपछि वरिष्ठ नेता राजेन्द्र महतो असन्तुष्ट बनेका थिए । नेताहरुले पटक–पटक बैठकका लागि आग्रह गरेपनि ठाकुरले चासो लिएका थिएनन् । आन्तरिक द्वन्द्वकै कारणपार्टीको बैठक बसिरहेको थिएन । बैठकमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा , सर्वेन्द्रनाथ शुक्ला लगायत सहभागी भएको बताइएको छ ।

लोसपाबाट नेताहरु अलग्गिनु अस्वाभाविक नभएको कार्यकारिणी समितिका सदस्य समेत रहेका मधेश प्रदेश संयोजक जितेन्द्र सोनलले बताए ।‘जबरजस्ती कसैलाई पनि पार्टीमा राख्न सकिदैन्’ उनले भने, चित्त नबुझेका नेताहरु बाहिरिए पनि पार्टीमा त्यसको कुनै प्रभाव पर्ने छैन् । लोसपा लोकतान्त्रिक मूल्य र मान्यतामा चल्ने भएकाले पार्टीमा आउने जाने क्रमलाई अस्वाभाविक रुपमा नलिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News