भगवान शिवको पूजा अर्चना गर्दै मनाइने महाशिवरात्रि पर्व नजिकिए सँगै यहाँका शिवालयहरु बेहुली झैं सजाउन थालिएको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ ।
यस वर्ष फागुन १७ गते मंगलबार यो पर्व मनाइने भएको छ । देवी पार्वतीसँगै विवाह भएको दिनका रुपमा पनि लिइने महाशिवरात्रि पर्वका लागि राजविराजमा रहेको हरिनन्देश्वर महादेव मन्दिर, छिन्नमस्ता गाउंपालिकामा रहेको लालेश्वरनाथ महादेव मन्दिर, शम्भुनाथ नगरपालिकामा रहेको शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकाको अंकुरी महादेव मन्दिर लगायतका शिवालयहरुमा शिवरात्रिको तयारी तीव्र रुपमा भइरहेको छ । यसैक्रममा महाशिवरात्रिमा सर्वाधिक श्रद्धालुको भीड हुने राजविराजको हरिनन्देश्वर महादेव मन्दिरलाई आकर्षक र झकिझकाउन बनाउन सौन्दर्यकरण कार्य तीव्र पारिएको व्यवस्थापन समितिले जनाएको छ । नवगठित समितिले उक्त मन्दिरको व्यवस्थापन हेर्न थालेपछि मन्दिरको संरचनामा व्यापक सुधार आएको मन्दिरका पुजारी महेश्वर भारती बताउँछन् ।
मन्दिर प्रवेशद्वारदेखि मन्दिरसम्म टायल्स ओछ्याइएको भने रंगरोगन, श्रद्धालुको लागि बिश्राम स्थल निर्माण तथा सजावट कार्य अन्तिम चरणमा पुगेको पण्डित भारतीले जानकारी दिए । मन्दिरको व्यवस्थापन समितिले भक्तजनकालागि पूजामा सहजीकरण, यातायातको पार्किङ, सरसफाइ र खानपिनलाइसुरक्षित बनाउन समेत विभिन्न तयारी गरेको अध्यक्ष ध्रुब देवले बताए । मन्दिरको सौन्दर्यकरणका लागि आफ्नो व्यक्तिगत खर्चका साथै विभिन्न दाताहरुबाट पनि सहयोग प्राप्त भएको जानकारी दिँदै उनले शिवरात्रीका दिन यस मन्दिरमा ५० हजार भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताए । यता जिल्लाका अन्य शिवालयहरु पनि मन्दिर संरक्षण र व्यवस्थापन समितिद्वारा झकिझकाउ पार्ने काम अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

