अपडेट 
२०७८ फाल्गुन १३, शुक्रबार ०८:५०

जनकपुरधाम । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ । नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको जनाएको छ ।

विस्तार गर्न लागेको सहरी स्वास्थ्य केन्द्रका लागि भवन निर्माणको काम तीव्र रुपमा भइरहेको उपमहानगरपालिकाका इञ्जिनीयर राकेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार भ्याटसहित कूल रु चार करोड ४७ लाख २९ हजार ७२ ९ मा निर्माणाधीन ११ वटै वडाको स्वास्थ्य केन्द्र भवन निर्माणको काम करिब ६० प्रतिशत सकिएको र बाँकी काम भइरहेको छ । उपमहानगरपालिकाले सहरी स्वास्थ्य केन्द्र भवनको निर्माणका लागि बोलपत्रमार्फत २०७८ साल जेठ ५ गते रामजानकी निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । उपमहानगरपालिकासँग सम्झौता गरे लगत्तैबाट काम सुरु गरेको र कार्य सम्पन्न गर्ने अवधि आगामी २०७९ जेठ महिनाभित्रै भवन निर्माणको काम सम्पन्न गरिने रामजानकी निर्माण सेवा प्रालिले जनाएको छ । नगरको सबै वडामा स्वास्थ्य सेवा पु¥याउने नीति अनरुप नगरको २५ वटा वडामध्ये १४ वटामा यसअघि नै आफ्नो भवन र बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्मम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

आफ्नो भवन नहुँदा कतिपय वडामा विद्यालय र वडा कार्यालय भवनमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । नगरवासीलाई स्वास्थ्य सेवा दिन नगरक्षेत्रमा चार तहको स्वास्थ्य संस्था विस्तार गर्ने उपमहानगरपालिकाको रणनीति रहेको समेत प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको कथन छ । आफ्नै भवन निर्माण भएपछि स्वास्थ्य केन्द्र सञ्चालन गर्न सहज हुने र नागरिकले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउने जनकपुरधाम उपमहानगरपालिका–१८ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डा रामकृष्ण साहले बताउनुभयो । ‘‘अहिले हाम्रो भवन छैन्, कोठा भाडामा लिएर स्वास्थ्य केन्द्र चलाइरहेका छौं”, उहाँले भन्नुभयो, ‘‘जसका कारण स्वास्थ्य केन्द्र सञ्चालन गर्न समस्या भइरहेको छ ।” तर आफ्नै भवन बनिरहेकाले अब भने सहज हुने उहाँको भनाइ थियो । आफू निर्वाचित भएदेखि नगरक्षेत्रको स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटक प्रवद्र्धनलगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख लालकिसोर साहले बताउनुभयो । स्वास्थ्य उपचारको आभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ नगरको सहरी तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना र त्यसमा जनशक्तिसँगै औषधिको व्यवस्थापन गर्दै आएको नगरप्रमुख साहले जानकारी दिनुभयो । ‘‘म निर्वाचित भएर आएको चार वर्षभित्र उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ”, उहाँले भन्नुभयो, ‘‘४०/५० किलोमिटर सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पिसिसी ढलान गरेका छौ ।” जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिठ्ठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चौक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा नौ इन्चको ठूलो चेचिस गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मिटर चौडाको सडक विस्तार गरेको नगरप्रमुख साहको भनाइ छ ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको शहीद गेट निर्माण कार्यसमेत अन्तिम चरण पुगेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेश शहीद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताउनुभयो । यसरी नगरपालिकाले एकपछि अर्काे लोकप्रिय योजना बनाएर कार्यान्वयनमा लग्दै गएपछि पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रकोस्वरुप समेत फेरिएको छ ।रासस

Comment


Related News

Latest News

Trending News