गरुडा(रौतहट)। रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुको टोलीले पाँच लाख घुस सहित मेयर पटेललाई आइतवार पक्राउ गरेको हो । अख्तियार दुरुपयोग काठमाण्डुका डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलीले २ लाख पचास हजार नगद तथा २ लाख पचास हजारको चेकसहित पक्राउ गरेको अख्तियारका केन्द्रीय प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । मेयर पटेल सहित नगरपालिकाका योजना प्रमुख मुकेश पटेल, सह लेखापाल प्रदीप यादव र मेयरका सहयोगी अशोक पटेललाई उक्त रकम र चेक सहित मेयर कक्षबाटै रङ्गेहात पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए ।
मेयर पटेलले एक जनासँग घुस रकम मागेको जानकारीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरिएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भण्डारीले बताए । मेयर पटेल लगायतका कर्मचारीहरुले सोही नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ । मेयर पटेल सहित चारै जनालाई षडयन्त्र गरी फसाइएको भन्दै स्थानीयहरुले नगरपालिका कार्यालय घेराउ गरी प्रदर्शन समेत गरेको थियो । अख्तियारको टोलीले नगरपालिकाका विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातहरु समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

