गौर । जिल्ला निर्वाचन कार्यालय रौतहटको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ मतदाता नामावली अद्यावधिक दाबी विरोध कार्यक्रम २०७८ सम्वन्धी सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने मतदाताहरुको नामावलीमा संशोधन , हटाउनु पर्ने भए सो सम्वन्धमा गरिने दाबी विरोधको प्रक्रिया सम्वन्धी जानकारी दिने उदेश्यले आइतबार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउने तयारी भइरहेको बताएका छन् । उनले सबै राजनीतिक दल , नागरिक समाज ,संचारकर्मीहरुलाई निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने सहयोग गर्न आग्रह गरे । जिल्ला समन्वय समितिका प्रमुख राम एकवाल यादवको अगुवाइमा भएको सो कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले रौतहटमा ४ लाख १० हजार ३ सय ३३ मतदाता संख्या रहेको जानकारी दिदै १८ स्थानीय तहको १ सय ५७ वडामा २ सय ७६ मतदान स्थल र ५ सय २४ मतदान केन्द्र रहने अनुमान गरे । फागुन १९ गते सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ भने फागुन १९ देखि २६ गते सम्म दाबी विरोध तथा सुधार गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगको कार्य तालिकामा उल्लेख छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे , नेपाली सेनाका गणपति , राष्ट्रिय अनुसन्धानका प्रमुख , राजनीतिक दलका प्रतिनिधि , पालिकाहरुका प्रमुख प्रशासकीय अधिकृत सहितको सहभागिता रहेको थियो ।

