अपडेट 
२०७८ फाल्गुन १७, मंगलवार ०७:३२

हिन्दू सनातन धर्म अनुसार पृथ्वीलाई संचालन गर्न सबैभन्दा पहिले आदिशक्ति माता प्रकट भइन् । वहाँबाट ब्रह्मा, विष्णु र महेश यी तीन सृष्टिकर्ताहरू प्रकट भए । यसमध्ये ब्रह्माको काम जन्मसँग सम्बन्धित भयो भने विष्णुको काम यसको पालनको जिम्मा लगाइयो । शिवलाई यी जीब जन्तुलाई संहार गर्ने जिम्मा दिइयो । यसरी पृथ्वीमा जन्मदेखि मृत्युसम्मको सृष्टी निरन्तर रूपमा चल्न थाल्यो । यही सनातन धर्म अनुसार हामी यी महादेवहरूलाई आफ्ना सृष्टिकर्ता सम्झेर पूजापाठ गर्दछौं । हाम्रो हिन्दू धर्म प्रकृतिसँग जोडेर अगाडि बढेको छ । त्यसैले हामी जंगल, पहाड, रुख, विरुवा, जीवजन्तुलाई समेत श्रद्धापूर्वक पूजापाठ गर्दछौं । आजको विज्ञान समेतले यसैलाई आधार बनाइ अगाडी बढेको देखिन्छ ।

यसमा वातावरण विज्ञानले त मानिसलाई यी वातावरणमा पाइने जीवजन्तु मध्येका एउटा प्राणी मात्र हुन् भनेको छ । अन्य जीवजन्तुलाई आफूसँग सुरक्षित गर्न सकेन भने हामी पनि उनीहरूसँगै विलीन हुन जानेछौं । त्यसैले हाम्रो देवमुनीहरूबाट लेखिएका अध्यात्म पुस्तकहरू पनि हामीलाई असल जीवन कसरी बिताउने भने कुराको उपदेश दिइरहन्छन् । हामी अहिले आफूलाई निकै बढी विकसित सम्झेर ढाढ्स दिइरहेका छौं । प्रकृतिको सामुने यी ढाढ्सहरू एकैछिनमा कहाँ जान्छ हामी देख्दै रहन्छौ । अब सन्दर्भ बदलौं । अब पाठकवर्गलाई हाम्रो महान पर्व शिवरात्रीतिर आकर्षित गर्न चाहन्छौं । प्रत्येक साल फाल्गुन कृष्णापक्षको चतुर्दशी तिथिमा हामी आफ्ना इष्टदेव महादेवलाई स्मरणको रूपमा वडो धूमधामका साथ मनाउँदै आइ रहेका छौं । यस वर्ष यो पर्व विक्रम सम्वत अनुसार फाल्गुण १७ गते मंगलवारका दिन परेको देखिन्छ । नेपाल सरकारले यस महान पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेको छ । त्यसै अनुसार यस साल पनि महाशिवरात्री मेला भर्न आउने साधुसन्त तथा भक्तजनका लागि पूर्ण व्यवस्था गरेको देखिन्छ । हामी पनि महाशिवरात्रीका दिनलाई वडो श्रद्धासाथ मनाउने गर्दछांै । यस दिनलाई हिन्दू समाजमा मानिसहरू उपवास समेत गरेर पूजापाठमा लीन हुन्छन् । नेपालको प्रत्येक मठ, मंदिर तथा शिवालयहरूमा निकै भीडभाड देख्न पाइन्छ । यस्ता मठ, मन्दिर तथा शिवालयहरूलाई महिना अगाडिदेखि नै रंग रोगन तथा फूलपातले श्रृगार्न थाल्छन् । खास गरी पशुपतिमा बढी चहल पहल हेर्न पाइन्छ ।

एक महिना अगावैदेखि नेपाल भारतका साधुसन्तहरू काठमाण्डौ पशुपतिमा जम्मा हुन थाल्छन् । यी साधुसन्तहरूका सम्पूर्ण व्यवस्था पशुपति संरक्षण कोष तथा गुठी संस्थानबाट गरेका हुन्छन् । यसमा अर्को विशेषता के हेर्न पाइन्छ भने देश विदेशका पर्यटकहरू समेत यस पर्वमा वडो चाखका साथ सामेल भएका हुन्छन् । यस्तै नेपालको प्रत्येक शिवालयहरूमा महाशिवरात्रीका दिन ठूलो भीडभाड हेर्न पाइन्छ । जनकपुरधाम त त्यसो पनि महान धार्मिक नगर भएको हुनाले यहाँ शिवरात्री जस्तो महान धार्मिक पर्वको रौनकता नहुनु त कुरै भएन । जनकपुरधामले त प्राचीन कालदेखि नै महाशिवरात्री पर्व मनाउँदै आइ रहेको छ । राजा जनक पालामा मिथिला सुरक्षाका लागि मिथिलाको चारै कुनामा शिवालयहरू निर्माण गरेका थिए । जो अहिले पनि यथास्थितिमा रहेको हेर्न पाइन्छ । ती सबै शिवालयहरूमा महाशिवरात्रीका दिन बडो धूमधामसाथ श्रद्धापूर्वक भगवान शिवको पूजा आर्चा गर्दछन् । जनकपुरधामका शिवालयहरू मध्ये प्रमुख शिवालयहरू शिवमन्दिर शिवचौक, कपिलेश्वरनाथ महादेव कपिलेश्वर, कुपेश्वरनाथ महादेव कुवा, अब्जेश्वरनाथ महादेव, भूतनाथ महादेव, शिवमन्दिर दूधमतीघाट, जनकपुरनाथ महादेव, महेश्वरनाथ महादेव, नागेश्वरनाथ महादेव, रामेश्वरनाथ महादेव राराब क्याम्पस, लगायत अन्य मन्दिर हरूमा ठूलो भीडभाड हेर्न पाइन्छ । जनकपुरधाम बाहिरका शिवालयहरूमा जलेश्वरनाथ महादेव, कल्याणेश्वरनाथ महादेव, सतोखरेश्वरनाथ महादेव, महिनाथमहादेव, धनुषाधामको अद्र्ध पिनाङ्क धनुष, टुटेश्वरनाथ महादेव, क्षिरेश्वरनाथ महादेव, शिवनगरको शिव मन्दिर रौटहट आदि शिवालयहरूपनि श्रद्धालु भक्तजनबाट भरिभराउ रहन्छन् ।

पशुपतिनाथ, मुक्तिनाथ जनकपुरको राममन्दिर, हलेसीनाथ जस्ता मन्दिरहरूमा भारी भीडभाड रहेका हुन्छन् । यसले हाम्रो सनातन धर्मलाई निरन्तरता प्रदान गर्दछ । सन्तान दर सन्तानलाई यस्ता पर्वले आध्यात्मकतालाई सार्दै आएका छन् । हाम्रा विरासतलाई कायम राखेका छन् । यस्ता महापर्वलाई श्रद्धापूर्वक मनाउँदा हामी आफैमा गौरवको अनुभूति गरिरहेका हुन्छौं । अब यहाँ प्रश्न उठछ कि हामी महाशिवरात्री किन मनाउँछौं ? उत्तरलाई सामान्य अर्थमा लिँदा यसलाई शिव र शक्ति मिलनको रात सम्झेर हामी मनाउने गर्दछौं । आध्यात्मिक रूपले यसलाई प्रकृति र पुरूषको मिलन गराउने रातको रूपमा लिइन्छ । जे जस्तो भए पनि शिवरात्री हामी किन मनाउँछौ भने कुरा आध्यात्मिक विद्वानहरूका बीचमा केही भतभिन्नता देखिन्छ । पौराणिक कथा अनुसार महाशिवरात्रीका दिन शिवजी पहिलो चोटी प्रकट भएका थिए । शिवका प्राकट्य ज्योतिर्लिंग यानी अग्नि शिवलिङ्गको रूपमा थियो । यस्तो शिवलिङ्गको न शुरू थियो न अन्त । यस बारे विभिन्न विद्वानहरू के बताउँछन् भने ब्रह्माजी हंसको रूपमा शिवलिङ्गको सबै भन्दा माथिल्लो भाग हेर्ने कोशिस गरिरहेका थिए तर उहाँ सफल हुनु भएन । वहाँले शिवलिङ्गको माथिल्लो भागसम्म पुग्न सक्नु भएन । अर्कोतिर विष्णु भगवान पनि बराहको रूप धारण गरेर शिवलिङ्ग आधार खोज्दै थिए तर वहाँले पनि आधार पत्ता लगाउन सक्नु भएन । अर्कोतिर केही विद्वानहरूका के मत छ भने यसै दिन पृथ्वीमा ६४ ठाउँमा शिवलिङ्ग प्रकट भएका थिए । यी ६४ प्रकारका लिङ्ग पृथ्वीको विभिन्न ठाउँमा अहिले पनि वर्तमान छन् ।

त्यसैले आजमा दिनमा महाशिवरात्री पर्व मनाएर भगवान शिवलाई हामी स्मरण गर्ने गर्दछौ । यसै सम्बन्धमा तेस्रो समूहका विद्वानहरूका मत के छ भने यसै दिन शिव र शक्ति (सती) का बीचमा भएको विवाहलाई विवाहोत्सवको रूपमा मनाउने गर्दछांै । मान्यता छ कि महाशिवरात्री कै दिन शिवजीको शक्तिसँग विवाह भएको थियो । यसै दिनमा शिवजी आफ्नो वैराग्य जीवनलाई छाडेर गृहस्थ जीवनमा प्रवेश गरेका थिए । शिवरात्रीको १५ दिन पछि फागु जो हामी मनाउँछौं यसको पछाडि एउटा कारण यसलाई पनि मानिसहरू मान्छन् । अर्कोतिर हेर्दा यसको वैज्ञानिक महत्व पनि रहेको छ । यस रातमा ग्रहका उत्तरी गोलाद्र्धमा अवस्थित हुँदा मानिसको शरीरमा रहेका भित्री भागलाई प्राकृतिक रूपले माथितिर जान थाल्छ । अर्को अर्थमा यसलाई यसरी लिन सकिन्छ कि प्रकृति (स्वयं) मानिसलाई आध्यात्मिक शिखरसम्म पुग्न सहयोग गरि रहेको हुन्छ । धार्मिक मान्यता के छ भने यस रातमा मानिसलाई परमात्मासँग जोडछ । यसै कारणले हुनसक्छ कि महाशिवरात्रीको रात मानिसलाई जागेर शिव आराधना गर्न तथा रीढ (पिठ्यू) को हड्डीलाई सोझो पारेर ध्यान मुद्रामा बस्न सल्लाह दिन्छन् । हुनत प्रत्येक महिनामा आमावस्या भन्दा एक दिन अगाडी अर्थात कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्री भनिन्छ । कतिपय शिव भक्तहरू सालै भरि शिवरात्री गर्ने गर्दछन् । तर ती शिवरात्री भन्दा यस महाशिवरात्रीको छुट्टै महत्व छ । प्रत्येक मानिसलाई यस शिवरात्रीमा रातभरि जाग्राम बसेर शिव आराधना गर्नु पर्छ । यस आराधनाले मानिस लोक परलोक दुबैमा कष्ट भोग्नु पर्दैन । भगवान शिव उनीहरूको रक्षामा सदैव तयार रहन्छन् भने धार्मिक विश्वास छ । अर्कोतिर शिवलाई महादेव पनि भनिन्छ । जन्म लिए पछि मृत्यु निश्चित छ । जन्म लिने बेलामा हामी खुशी मनाउँछौं र मृत्युकालमा दुःख मनाउने गर्दछांै । महादेव भनेको सबै देव देवीका देवता ।

समुद्रमा अमृत प्राप्तिका लागि समुद्र मन्थन गर्दा अमृत र विष दुबै निस्केका थिए । विषलाई जताततै फाल्न मनाही थियो । यस विषलाई कसले पिउने भनेपछि कसैले तयार भएनन् । अन्तमा महादेव विष सेवन गरेर सबै देवताको ज्यान बचाउने काम गर्नु भयो । त्यसै दिनदेखि सबै देवताहरू महादेवको रूपमा मान्न थाले । अर्कोतिर यहाँलाई संहारको जिम्मा लगाइएको हुनाले पनि महादेव भनेको हुन सक्छ । महादेव आफैमा शक्ति तथा भक्ति दुबैमा सर्वगुण सम्पन्न हुनुहुन्छ । भनाइ छ महादेवको पूजाआर्चा गर्नाले छिट्टै फल प्राप्ति हुन्छ । यसैले होला मानव तथा दानव दुबैले महादेवलाई खुश पारेर ठूल ठूला काम गर्न सफल भएका थिए । तर महादेवको सामुने कसैको हठ चल्दैन । नेपालमा ८० प्रतिशत हिन्दू भएको हुनाले पूरै नेपाल शिवरात्रीका दिन शिवमय भएको हुन्छ । प्रत्येक हिन्दूले आफ्नो घरमा महादेवको पूजापाठ गरेको हुन्छ । महादेव हामी सबैको साझा देव हुन् । यसैले होला, नेपाल सरकार सरकारी स्तरबाट यसलाई बडो धूमधामका साथ मनाउने गर्दछ । नेपाल सरकारको पक्षबाट टुडीखेलमा नेपाली सैनिकका तर्फबाट बढाइँ कार्यक्रमको आयोजना गरिन्छ । यस कार्यक्रममा राष्ट्रपति, प्रधानमंत्री, प्रधानन्यायाधिश लगायत उच्च पदस्त राष्ट्रसेवकहरू समेतको उपस्थिति रहन्छन् ।

सेनाले वर्षभरि गरेका बहादुरीपूर्ण कामलाई यस कार्यक्रममा प्रदर्शन गर्छन् । टुडीखेलको चारैतिर दर्शकहरूका निकै ठूलो भीड रहन्छ । यस कार्यक्रमलाई हेर्न टाढा–टाढाका मानिसहरू टुडीखेलमा जम्मा हुन्छन् । टुडीखेलको मंचबाट यस कार्यक्रमलाई संचालन गरेको हुन्छ । यसमा राष्ट्रपति तथा प्रधानमंत्री लगायत शीर्ष नेताहरू नेपाली जनतालाई बधाइ अर्पण गरेका हुन्छन् । निष्कर्ष के भन्न सकिन्छ भने यस्ता पर्वबाट हामी नेपाली एकताबद्ध हुन पाउँछौ । धर्मले मान्छेलाई सुकर्मको नजिक लगेर छोड्छ भने कुकर्मले मानिसलाई कहाँ पु¥याउँछ भन्न सकिन्न । यसैले हामी जहिले पनि आफ्ना आदर्शलाई छोड्नु हुँदैन । मानव र दानवमा यही भेद छ । दानवले कुकर्मलाई समात्छ भने मानव सुकर्मलाई समात्छ । सुकर्मले मात्र हामीलाई ईश्वर नजिक पुगाउन सक्छ । हाम्रा सनातन धर्मको मूल उदेश्य पनि यही हो ।

अस्तु । लेखक त्रिविका सेवानिवृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News