जनकपुरधाम । मधेश प्रदेशको अर्थतन्त्र अत्यन्त कमजोर रहेको आरोप एक कार्यक्रमका वक्ताहरुले लगाएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । मधेश प्रदेशमा अर्थतन्त्रको विकास गर्न सकिए सम्पूर्ण देशकै खर्च धान्न सक्ने प्रशस्त सम्भावना भए पनि संघ सरकारको उपेक्षाको कारण प्रदेशको अर्थतन्त्र दयनीय बनेको सहभागीहरुले बताए । कृषि,पर्यटन र उद्योग सहितका विभिन्न क्षेत्रमा प्रदेशमा व्यापक सम्भावना रहे पनि सरकारी कमीकमजोरीको कारण यहाँको अर्थतन्त्र उक्लिन नसकेको गुनासो पोख्दै वक्ताहरुले भने,‘‘जहाँसम्म योगदानको कुरो छ भने सबभन्दा बढी युवा जनशक्ति मधेश प्रदेशकै वैदेशिक रोजागारीमा गएका छन् र सबैभन्दा बढी राजस्व सरकारले रेमिट्यान्सबाटै पाउने गरेको कुरो कसैसंग लुेकेको छैन’ विराटनगर र वीरगञ्ज नाकाबाट हुने भन्सारको व्यवस्थापन सरह नै धनुषाको जटही नाकामा समेत हुनु पर्ने आवश्यकता रहेको बताउंदै सहभागीहरुले प्रदेशको राजधानी जनकपुरधाममा दिन प्रति दिन जनसंख्या बढ्नु तर यहाँका व्यवसायीहरुलाई वीरगञ्ज र विराटनगरबाटै भारतबाट सामान आयात गर्नु पर्ने बाध्यताले व्यवसायीहरुलाई विभिन्न प्रकारको समस्या हुने गरेकोले यसको अन्त्य गर्नु पर्नेमा जोड दिए ।
प्रदेशको अर्थतन्त्रको विकासको लागि संसददेखि सरकार सम्म कोही पनि गंभीर नरहेको आरोप समेत उनीहरुले लगाए । धार्मिक पर्यटनदेखि कृषि क्षेत्रमा अब्बल रहेको अवस्थामा मधेश प्रदेशमा आउने बजेटको ५० प्रतिशत समेत सदुपयोग हुन नसक्नु तथ्य समेत उनीहरुले प्रस्तुत गरे । कार्यक्रममा उद्योगी ई.प्रकाशचन्द्र साह,च्याम्बर अफ कमर्श जनकपुरका सचिव विजय कुमार साह,जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ,कृषि निर्देशनालयका उपसचिव ललनकुमार सिंह,मधेश प्रदेशको नीति तथा योजना आयोगका प्रशासकीय अधिकृत दानी कान्त झा,उद्योगीहरु सुरेन्द्र कुमार दास,हरिशंकर यादव,कृषि विज्ञ नन्द झा लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।



