कांग्रेस सप्तरी सभापतिका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार समूह सहित संस्थापन पक्षबाट वर्तमान सचिव शत्रुधन प्रसाद यादव र इतर पक्षका रामदेव साहले मनोनयन पत्र दर्ता गराएका हुन् । संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रीय सदस्य दिनेश कुमार यादवको समर्थन छ । शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ । शत्रुधनको समूहबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्ते महम्मद, सचिवमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खड् गाको उम्मेदवारी परेको छ । रामदेवको समूहबाट उपसभापतिमा रामकुमार यादव र ध्रुबनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादवको उम्मेदवारी परेको छ ।
सहचिवमा मो. मुस्लिम र रामसुन्दर मण्डलको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कुल २ हजार ५ सय ३५ मतदाता छन् । पार्टी प्रवक्ता प्रभातकुमार ललनले सात पदाधिकार ीसहित ८२ सदस्यीय जिल्ला कार्यसमितिका लागि दुबै पक्षले समूह बनाएर उम्मेदवारी दर्ता गराएको बताए । उनले फागुन २० गते गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहेको जानकारी समेत दिए । दुबै समूहकाबीच तीव्र प्रतिस्पर्धा हुने र थोरै मतको अन्तरले हारजित हुने अनुमान गरिएको छ ।


