रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा हिँसा र अलपत्रमा परेकी महिलाहरुको लागि महिला सेफ हाउसको स्थापना गरिएको छ ।
महिला अधिकारको पक्षमा विगत लामो समय देखि वकालत गर्दै आएका महिला अधिकारकर्मीहरुले गर्न नसकेको कार्य विगत २ वर्ष देखि महिला तथा बाल बालिकाको अधिकारको लागि आवाज उठाउँदै आएका मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशका संयोजक पूजा पाठक तिमिल्सिनाको सक्रियतामा सेफ हाउसको स्थापना गरिएको हो । चन्द्रपुर नगरपालिका–४ स्थित कृषि विकास बैंकको कार्यालयदेखि पश्चिम तर्फ रहेका नेपाल कार्कीको पक्की घरमा ४ बेडको महिला सुरक्षा आवासको संचालन गरिएको मधेश प्रदेश संयोजक तिमिल्सिनाले जानकारी दिइन् ।
घरेलु हिँसा , बलात्कार , बेच बिखनमा परेकी महिलाहरुलाई तत्काल बस्ने खाने गरी राख्ने उद्देश्यले महिला सेफ हाउसको संचालन गरेको उनको भनाइ छ । रौतहटमा पीडित महिला तथा बाल बालिकालाई राख्नको लागि पर्सा र सर्लाही जिल्लामा पठाउनु पर्ने रहेको बाध्यतालाइ हेर्दै चन्द्रनिगाहपुर मै सुरक्षित रुपमा राख्नको लागि हाउसको स्थापना गरिएको बताइएको छ । भाडाको घरमा तत्काल महिला सेफ हाउस संचालन गरेको र विस्तारै थप सुविधा सम्पन्न बनाउँदै जाने प्रतिवद्धता समेत जनाइएको छ । विभिन्न सहयोगीहरु संग खाद्यान्न,लता कपडा लिएर गरिब, दलित ,विपन्न परिवारलाई चिसो , दैवी प्रकोप परेको बेला सहयोग गर्दै आएकी पाठकले पीडित महिलाहरुलाई चन्द्रनिगाहपुर भन्दा बाहिर पठाउने बाध्यताको अन्त्य भएको उनले बताए ।
गरुडामा संचालन रहेको महिला ,बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र , गौरमा संचालन रहेको मानव सेवा केन्द्रमा पीडित महिलाहरुलाई पठाउने गरेको थियो । विगत समय देखि महिलाहरुको अधिकारको लागि आवाज उठाउने महिला अधिकारकर्मीहरुले महिलाहरुको लागि सुरक्षित आवासको व्यवस्थापन गर्नु पर्ने ध्यान नदिए पनि छोटो समयमा यस्तो कार्य गर्न सफल भएकी पाठकलाइ सबै पक्षले सहयोग गर्ने बताइएको छ ।

