नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा संस्थापनका पक्षका जनार्दन सिंह क्षेत्री विजयी भएका छन् ।
संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै उनी विजयी भएका हुन् । ७ वटा पदाधिकारी सहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेल समूहबीच प्रतिस्पर्धा भएको थियो । पदाधिकारीमा पनि संस्थापन पक्षकै समूह निर्वाचित भएको छ । निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाएका छन् भने पटेलले ६ सय ४५ मत मात्र प्राप्त गरे । तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको समर्थन रहेको थियो । पटेललाई कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको थियो । पर्सा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् ।
सचिवमा इम्तियाज आलम १ हजार १ सय ८७ र दिनेश कुमार चौधरी १ हजार १ सय ५९ मत ल्याएर विजयी भए । सह–सचिवमा नविन सिंह १ हजार २ सय ५३ र मदन राउत अहिर १ हजार १ सय ११ मत ल्याएर निर्वाचित भएका छन् । वीरगञ्जस्थित बालमन्दिर परिसरमा भएको मतदानमा १ हजार ७ सय ७९ जनाले मतदान गरेका थिए ।

